काठमाडौं । हालै सार्वजनिक सदस्यता विवरणले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र महिलाको सहभागिता अपेक्षाकृत कम रहेको देखाएको छ। कुल ५ लाख २३ हजार ४६५ सदस्यमध्ये करिब ७५.८ प्रतिशत पुरुष छन् भने महिलाको हिस्सा १७.२ प्रतिशत मात्र रहेको तथ्यांकले पार्टी सदस्यतामा स्पष्ट लैंगिक असन्तुलन देखाएको हो।
प्रदेशगत विवरण हेर्दा सातवटै प्रदेशमा पुरुष सदस्यको संख्या महिलाभन्दा उल्लेखनीय रूपमा बढी छ।
कोशी प्रदेशमा ७३ हजार ३५५ सदस्यमध्ये ५५ हजार ७७३ पुरुष र १२ हजार ८५८ महिला छन्।
मधेश प्रदेशमा १ लाख २१ हजार ८९९ सदस्यमध्ये ९२ हजार ५०४ पुरुष तथा २५ हजार २४१ महिला सदस्य रहेका छन्।
बागमती प्रदेशका १ लाख ७ हजार ३२० सदस्यमध्ये ७९ हजार ९७२ पुरुष र १६ हजार ८५३ महिला छन्।
गण्डकी प्रदेशमा ६१ हजार ९३५ सदस्यमध्ये ४३ हजार २५६ पुरुष र ११ हजार ७३७ महिला सदस्य दर्ता भएका छन्।
लुम्बिनी प्रदेशमा ७५ हजार ९६२ सदस्यमध्ये ५६ हजार ९७७ पुरुष र १३ हजार ३१८ महिला छन्।
कर्णाली प्रदेशका २७ हजार ३२५ सदस्यमध्ये २२ हजार ४५९ पुरुष र ३ हजार १७२ महिला सदस्य रहेका छन्।
त्यस्तै, सुदूरपश्चिम प्रदेशमा ५५ हजार ६७९ सदस्यमध्ये ४५ हजार ८४८ पुरुष र ६ हजार ७१७ महिला सदस्य रहेको विवरणले देखाएको छ।
तथ्यांकले रास्वपाको संगठन विस्तार तीव्र भए पनि सदस्यतामा महिलाको आकर्षण अझै सीमित रहेको संकेत गरेको छ।

