रास्वपा महाधिवेशनः प्रतिनिधि शुल्क नलिने निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिहरूबाट लिइँदै आएको प्रतिनिधि शुल्क नलिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

महाधिवेशनको अवधि केही लम्बिएको अवस्थालाई ध्यानमा राख्दै सभापति लामिछानेले अब प्रतिनिधिहरूले शुल्कबापत बुझाउनुपर्ने ५ हजार रुपैयाँ अनिवार्य नरहेको स्पष्ट पारेका हुन् । साथै, शुल्क बुझाइसकेका प्रतिनिधिहरूमध्ये आर्थिक समस्या भएकाले आवश्यक प्रक्रिया पूरा गरी उक्त रकम फिर्ता लिन सक्ने व्यवस्था गरिएको जनाइएको छ ।

पार्टीले महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई चितवन बसाइका क्रममा खानपिन, आवास वा अन्य व्यवस्थापनसम्बन्धी समस्या परे सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गरेको छ । प्रतिनिधिहरूलाई कुनै प्रकारको असहजता नहोस् भन्ने उद्देश्यले आवश्यक सहजीकरणको व्यवस्थासमेत मिलाइएको बताइएको छ ।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन चितवनमा जारी छ । देशभरबाट आएका प्रतिनिधिहरू महाधिवेशनमा नेतृत्व चयन, संगठन सुदृढीकरण तथा भावी राजनीतिक कार्यदिशाका विषयमा छलफल गरिरहेका छन् । महाधिवेशनको समयावधि लम्बिएसँगै प्रतिनिधिहरूको बसोबास तथा व्यवस्थापनका विषय पनि चासोको केन्द्रमा रहेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार