काठमाडौं । भारतले नेपाली चिया निर्यातमा अघोषित रोक लगाएपछि पूर्वी नेपालका चिया उद्योगहरू बन्द हुन थालेका छन्। यसअघि इलामका ५६ उद्योग बन्द भइसकेकोमा आज झापाका ३० भन्दा बढी उद्योग र करिब दुई दर्जन बगान पनि पूर्ण रूपमा बन्द भएका छन्।
निर्यात ठप्प भएपछि गोदाममा चिया थन्किएको र बिक्री नहुँदा मजदुर तथा कर्मचारीलाई तलब दिन नसक्ने अवस्था आएको व्यवसायीले बताएका छन्। नेपाल चिया उत्पादक संघका अनुसार सरकारले कूटनीतिक पहल नगरेको भन्दै उद्योग बन्द गर्न बाध्य भएको हो।
झापा–इलाम क्षेत्रमा वार्षिक १२–१४ अर्ब रुपैयाँ बराबरको चिया कारोबार हुने र भारततर्फ मात्र ५ अर्बभन्दा बढीको निर्यात हुने गरेको छ। उद्योग बन्द हुँदा करिब ६० हजार श्रमिक, कर्मचारी र किसानको रोजीरोटी प्रभावित भएको छ। सरकारले समस्या समाधानका लागि कूटनीतिक पहल भइरहेको जनाएको छ।

