काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगमलाई माथि उकास्नका लागि उपयुक्त मोडलको खोजी भइरहेको बताएका छन् ।
निगम दुर्गतिमा फसेको उल्लेख गर्दै उनले त्यसलाई उकास्नका लागि सरकारले संरचनागत रुपमा नै आमूल सुधार गर्नका लागि राष्ट्रिय बहसमार्फत उपयुक्त मोडलको खोजी गरिरहेको स्पष्ट पारे । बुधवार प्रतिनिधि सभा बैठकमा आफनो मन्त्रालयको विनियोजन शीर्षकमाथिको सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पौडेलले निगम पखेटा घाइते भएका चराजस्तो भएको उल्लेख गर्दै त्यसलाई सुधारको बाटोमा अघि बढाउनका लागि सरकार प्रयासरत रहेको बताएका छन् ।
उनले भने,‘नेपाल वायु सेवा निगमको विषममा पनि सुन्दर कुरा उठाइएकोछ । त्यहाँको समस्या बजेटले सम्बोधन गर्ने विषय होइन । तर हामीले नियमन र अनुगमन भने गर्दछौँ । हामीले चुनाव भन्दा अगाडि पनि र चुनाव भन्दा पछाडि पनि र सरकार गठन भएपछि पनि, सरकारको नीति तथा कार्यक्रममा पनि सम्बोधन गरेको विषय के हो भने नेपाल वायु सेवा निगमको अव सुदृढिकरण गर्नु पर्दछ । त्यसलाई जुनसुकै मोडलमा एउटा राष्ट्रिय ध्वजाबाहकको दुर्गती हुँदै गईरहेको छ । ६५ अर्व भन्दा बढिको ऋण छ । वर्षैपिच्छे २ अर्वभन्दा बढि ऋण थपिएको थपिएको नै छ । र एकदम दुरावस्थामा गइरहेको छ । जहाँ बेथितिको भंगालो छ । सबैबाट पार पाउनका लागि हामीले एउटा रणनीतिक रुपम काम गरिरहेका छौँ । र यसलाई कुन मोडलमा लैजान उपयुक्त हुन्छ रु पिपीपी मोडलमा लैजादा उपयुक्त हुन्छ कि, अरु कुनै मोडलमा लैजादा उपयुक्त हुन्छ कि भनेर हामीले राष्ट्रिय बहसमा लैजाने र उपयुक्त मोडल अपनाएर यसको पुनर्ताजगी गर्ने पुनर्जीवन दिने र त्यसबाटै मात्रै पर्यटनको दीगो विकास सम्भावना हुन सक्छ । पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ । त्यसको उन्नतिको लागि, प्रयोगको लागि त्यसको आमूल संरचनागत सुधारको लागि नीतिगत सुधार नै गर्ने र त्यसलाई निजी क्षेत्रको सहभागितासहित त्यसलाई उकास्ने मोडलमा हामीले जाने प्रयास गरिरहेको निवेदन गर्दछु ।’
मन्त्री पौडेलले सरकारले निजी क्षेत्रसहितको सहभागितामा नेपाल वायुसेवा निगमलाई उकास्ने गरी योजना तर्जुमा गर्ने कामलाई अघि बढाएको पनि बताएका छन् ।

