काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारिता क्षेत्रलाई जिम्मेवार र मर्यादित बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । बुधवार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक अन्तर्गतको आफनो मन्त्रालयसम्बन्धि विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले उक्त कुरा बताएका हुन् ।
मन्त्री तिमिल्सिनाले पत्रकारहरुको न्युनतम पारिश्रमिक कार्यान्वयनका लागि पनि सरकारले प्रभावकारी कदम चाल्ने बताए । पत्रकारिता क्षेत्रलाई राम्रो बनाउने उद्देश्यले सरकारले आगामी आर्थिक वर्षका लागि ५० लाख बजेट विनियोजन गरेको मन्त्री तिमिल्सिनाको जिकिर थियो ।
उनले भने,‘पत्रकारको न्युनतम पारिश्रमिक सरकारको प्राथमिकतामा रहेको मैले बताईसकेको छु । यसको व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सूचना तथा प्रशारण विभागबाट उपलब्ध हुने सेवा, सुविधा प्राप्त गर्दा सम्बन्धित सञ्चार प्रतिष्ठानले पत्रकार पत्रकारलाई भुक्तानी गरेको मासिक पारिश्रमिको पेरोल समेत बुझाउनुपर्ने व्यवस्था गरिएको छ । त्यसको थप प्रभावकारिता हुने व्यहोरा पनि म अनुरोध गर्न चाहन्छु । निजी सञ्चार माध्यम र श्रमजीवि पत्रकारहरुको हक अधिकारको विषयमा आन्दोलनमा उत्रन बाध्य भएको भनि विषय उठान गर्नु भएको सम्बन्धमा सूचना तथा प्रशारण विभागमा यस सम्बन्धि समस्या समाधानका लागि कार्य भईरहेको र यस्तो बाँकि काम भए गम्भिरतापूर्वक समाधान गर्न सरकार गम्भिर छ । पत्रकारिताको सेक्टरलाई राम्रो गराउनका लागि सरकारले आगामी आर्थिक वर्षका लागि ५० लाख बजेट विनियोजन गरेको जानकारी पनि गराउन चाहन्छु । खोज तथा जिम्मेवार पत्रकारितालाई प्रवद्र्धन गर्नका लागि खोज तथा जिम्मेवार पत्रकारिता फेलासिप कार्यक्रमका लागि २१ लाख विनियोजन गरिएको छ । पत्रकारिताको क्षेत्रलाई जिम्मेवार र मर्यादित गराउनका लागि के गर्न सकिन्छ ? त्यो गर्नका लागि सरकार प्रतिवद्ध रहेको कुरा पनि जानकारी गराउन चाहन्छु ।’
मन्त्री तिमिल्सिनाले श्रमजीवि पत्रकारहरुको माग सम्बोधन गर्नका लागि पनि सरकारले छलफल गरिरहेको बताएका छन् ।

