प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग

काठमाडौं । नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीको सीमासम्बन्धी पछिल्लो अभिव्यक्ति राष्ट्रहित विपरित रहेको भन्दै त्यसलाई संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् ।

सोमवारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक दुलालले उक्त विषयमा सभामुखको रुलिङ र प्रधानमन्त्रीको स्पष्टीकरण आवश्यक रहेको बताए । सम्बोधनका क्रममा दुलालले दार्चुलाको नेपाली भूमिमा भारतीय सेनाको हेलिकोप्टर अवतरण गरेको भनिएको समाचारप्रति सरकारको आधिकारिक जवाफ माग गरे । भारतीय सुरक्षा निकायका उच्च पदाधिकारी सवार हेलिकोप्टर नेपाली भूमिमा अवतरण हुनु गम्भीर विषय भएको उल्लेख गर्दै उनले यसबारे यथार्थ जानकारी गराउन सरकारसँग माग गरे ।

उनले पूर्वी नेपालको इलाममा चिया उद्योगले भोग्नुपरेको संकटप्रति पनि सदनको ध्यानाकर्षण गराए । भारतीय अवरोधका कारण इलामको प्रसिद्ध चिया उद्योग बन्द हुने अवस्थामा पुगेको र त्यसबाट किसान तथा व्यवसायीहरू ठूलो पीडामा रहेको उनले बताए ।

उनले भने, ‘भारतीय अवरोधले उद्योगधन्दा र रोजगारी बन्द हुने स्थिति सिर्जना भएको छ, यसतर्फ सरकारको ध्यान किन जान सकेको छैन ?’

प्रमुख सचेतक दुलालले देशमा हालै घटेका विभिन्न घटनाहरू(जस्तै टेम्पो पल्टाइएको, घरका छानामा ढुङ्गा प्रहार गरिएको र उद्योगहरू बन्द हुन लागेको विषयमा प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने धारणा राखे । उनले जनताका जल्दाबल्दा समस्या समाधान गर्न र सदनमार्फत आम नागरिकलाई राहतको अनुभूति गराउन प्रधानमन्त्रीलाई आग्रह समेत गरेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार