तत्काल स्पष्ट निर्णय र एकताको पहल गर्न नेतृत्वलाई नेता सिटौलाको आग्रह

विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीभित्र बढ्दो आन्तरिक विवाद र नेतृत्वको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै तत्काल स्पष्ट निर्णय र एकताको पहल गर्न नेतृत्वलाई आग्रह गरेका छन्।

विराटनगरमा आयोजित कांग्रेस इतर समूहको भेलालाई सम्बोधन गर्दै सिटौलाले पार्टीभित्र देखिएको अन्योल र महाधिवेशनबारेको ढिलाइ अन्त्य गर्न नेतृत्वले साहसिक निर्णय लिनुपर्ने बताए। उनले विवादलाई लम्ब्याउनुको सट्टा समयमै निष्कर्षमा पुग्नुपर्ने धारणा राखे।

पार्टीभित्र आफ्नै नेता–कार्यकर्ताप्रति गरिएको व्यवहारप्रति आपत्ति जनाउँदै सिटौलाले लोकतान्त्रिक पार्टीभित्र मानवता र विधिको शासनको सम्मान हुनुपर्ने बताए। आफ्नै साथीहरूमाथि गरिएको व्यवहार स्वीकार्य नभएको उल्लेख गर्दै उनले यस्तो व्यवहार शत्रुप्रति समेत गरिँदैन भन्ने टिप्पणी गरे।

सिटौलाले विगतका महाधिवेशनका अभ्यासलाई आधार बनाएर आगामी महाधिवेशन समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए। उनले संस्थापन पक्षलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टीको एकता, पारदर्शिता र लोकतान्त्रिक प्रक्रियालाई प्राथमिकता दिन आग्रह गरे।

उनका अनुसार देशमा लोकतन्त्र र संवैधानिक व्यवस्थामाथि चुनौती बढिरहेका बेला कांग्रेसले आन्तरिक विवादमा अल्झिनुको सट्टा संगठनलाई बलियो बनाएर जिम्मेवार भूमिका निर्वाह गर्न आवश्यक छ।

सम्बन्धित समाचार

ताजा समाचार