मंगलवारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५–२६ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलवारदेखि काठमाडौंमा शुरु हुने भएको छ । नेपाल प्रोफेसनल गल्फर एसोसिएनको आयोजनामा हुँदै आएको सूर्य नेपाल गल्फ टुरको यो सिजनको अन्तिम प्रतियोगिता हो ।
उक्त सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप गोकर्ण गल्फ कोर्समा हुनेछ । आयोजकले आईतवार त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्च ९एनएसजेएफ० मा पत्रकार सम्मेलन आयोजना गर्दै सिजनको अन्तिम प्रतियोगिता गर्न लागेको हो । उक्त प्रतियोगिता चार दिनसम्म चल्नेछ । कुल ७२ होलमा प्रतिष्पर्धा हुने प्रतियोगितामा ३६ होलपछि कट लागू गरिने आयोजकले जनाएको छ ।
कट पार गर्ने शीर्ष १८ व्यावसायिक र एमेच्योर गल्फरहरू (सोही स्कोर बनाउने) ले अन्तिम दुई चरणका लागिस्थान बनाउनेछन् । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले यो प्रतियोगिता नेपाली गल्फमा हालसम्मकै ठूलो पुरस्कार राशिसहित आयोजना हुन लागेको र खेलाडीहरू उपाधिका लागि उत्साहित रहेको बताए । विजेताले तीन लाख २० हजार रुपैयाँ र उपविजेताले दुई लाख ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो, चौथो र पाँचौं स्थानका खेलाडीहरूले क्रमशः एक लाख ६२ हजार, एक लाख ४५ हजार र एक लाख २८ हजार रुपैयाँ हात पार्नेछन् । शीर्ष १८ भित्र रहने सबै खेलाडीले नगद पुरस्कार पाउनेछन् ।
सिजनको अन्तिम प्रतियोगितामा प्रोफेसनल गल्फर भूवन नगरकोटीलाई दाबेदारका रूपमा हेरिएको छ । उनी यस सिजनको चार उपाधि विजेता हुन् । यस सिजन भुवनले आठ लाख २७ हजार पाँच सय रुपैयाँ कमाइसकेका छन् । नीरज तामाङ पाँच लाख ९९ हजार आठ सय ३३ रुपैयाँ र दिनेश प्रजापतीले चार लाख ८४ हजार ८३३ रुपैयाँ कमाएका छन् । प्रतियोगितामा डिपी वल्र्ड पिजिटिआई टुरमा उत्कृष्ट प्रदर्शन गरिरहेका सुवास तामाङ पनि प्रतिष्पर्धामा रहनेछन् । शुक्रबहादुर राई पनि उपाधि होडका दाबेदार हुन् । एमेच्योरतर्फ नेपालका शिर्ष वरीयताप्राप्त खेलाडी सद्भाव आचार्य र साविक विजेता राहुल विश्वकर्माले पनि ट्रफीका लागि चुनौती दिनसक्छन् ।
प्रिमियर गल्फ च्याम्पियनसिप प्रो–एम असार पाँच गते आयोजना हुनेछ । उक्त प्रतियोगितामा २५ व्यावसायिक र एक सय कर्पोरेट एमेच्योर गल्फरले प्रतिष्पर्धा गर्नेछन् । यसपटक प्रतियोगिताको कुल पुरस्कार राशि १८ लाख रुपैयाँ रहेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार