काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देश विगत १०–१५ वर्षदेखि निहित स्वार्थ समूहहरूको प्रभावमा रहेको दाबी गर्दै सरकार त्यसलाई तोड्ने अभियानमा रहेको बताएका छन् ।
आईतवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विगतमा राजनीतिक नेतृत्वदेखि राज्यका विभिन्न अंगहरु समेत स्वार्थ समूहको कब्जामा रहेको तथ्यहरु खुलिरहेको बताए । उनले मुलुकको इतिहासकै सबैभन्दा ठूलो वित्तीय घोटालाको फाइल एक खर्बभन्दा बढी बिगो मागसहित प्रक्रियामा रहेको जिकिर गरे । उनले सरकार अहिले मुलुकको अर्थव्यवस्थामा देखिएको बेथितिलाई सफा गर्ने अभियान रहेको बताए । मुलुक कहिल्यै बन्दैन भनेर युवाहरु विदेशिनुपर्ने भाष्य चिर्नेगरी सरकार अघि बढिरहेको उनको दाबी छ ।
उनले भने, ‘विगत १०–१५ वर्ष यो देश निहित स्वार्थ समूहहरुको कब्जामा थियो । स्वार्थ समूहहरुले देशलाई क्याप्चर गरेका थिए । पोलिटिसियनहरु उनीहरुको गोजीमा थिए । राज्यका अन्य अंगहरु समेत उनीहरुको प्रभावमा थिए । त्यसलाई हामी तोड्दैछौँ । नेपालको इतिहासमा सबैभन्दा ठुलो फाइनान्सियल स्क्यान्डल अहिले न्यायिक प्रक्रियामा रहेको छ । १ खर्बभन्दा बढी विगो मागेर अहिले मुद्दा चलिरहेको छ । यसको पछाडिको कथा तपाईले पढ्नुभयो भने देशको राजनीतिक व्यक्ति र निकाय कसरी प्रभावित भएका थिए भन्ने कुराको डर लाग्छ । त्यसकारण हामीले अहिले यो सबै गडबडी सफा ‘क्लिन अप दि मेस’ शुरु गरेका छौँ, ताकि तपाईहरु जस्ता युवा विदेशिन नपरोस् । यो देशमा केही हुदैन, यो देश कहिल्यै बन्दैन, मैले आफ्नो सपना पूरा गर्ने हो भने विदेश जानुपर्छ भन्ने भाष्य चिर्दैछौँ । त्यसकारण तपाईंहरु आउनुहोस् र भन्नु्होस् के के सुधार्नुपर्ने हो ? यसको लागि बजेट कुर्नुपर्दैन ।’
मुलुकमा सुशासन र आर्थिक समृद्धिको जग बसाउन पाँच वर्षको रोडम्यापसहित सरकार अघि बढिरहेको उनको भनाइ छ ।

