काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले अभौतिक सांस्कृतिक सम्पदाले राष्ट्रिय स्वाभिमानको जगेर्ना गर्ने बताएका छन् । शुक्रवार प्रतिनिधिसभा बैठकमा सांसदहरुले अभौतिक सांस्कृति सम्पदा (संरक्षण) विधेयक २०८३ माथिको छलफलमा सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा उनले उक्त कुरा बताएका हुन् । मन्त्री पौडेलले उक्त सम्पदाले ऐतिहासिक पारम्पारिक ज्ञान पद्धतिलाई मान्यता दिने पनि स्पष्ट पारे । उनले राष्ट्रिय सभाबाट उत्पति भई प्रतिनिधि सभामा आएको उक्त विधेयकमा धेरै कुरा छुटेको पनि बताए । मन्त्री पौडेलले यो सम्पदाको संरक्षणमा स्थानीय तह बढी जिम्मेवार हुने बताएका छन् ।
उनले भने,‘जब हामी अभौतिक सम्पदाको कुरा गर्दछौ, त्यो स्थानीय तहसँग बढी जिम्मेवार भएर बसेको विषय हुन्छ । केन्द्रले त्यसलाई सूचिकरण गर्ने, संरक्षण गर्ने र उस्तै परेमा बजेट एलोकेशन गर्ने अथवा त्यसका अरु आयामहरुमा सहयोग गर्ने गर्नुपर्दछ । यो विधेयकमा धेरै चिजहरु छुटेको छ । खेलकुद आफैँमा एउटा अभौतिक सम्पदा हो । यो विधेयकको सबैभन्दा सन्दरतम पक्ष के हुन्छ भन्दा यसले राष्ट्रिय स्वाभिमानको जर्गेना गर्छ । तपाई हामी हुनुको पहिचानको सही अर्थ दिन्छ । तपाई हामीले अभ्यास गर्दै आएको ऐतिहासिक पारम्परिक ज्ञान पद्धतिलाई मान्यता दिन्छ । मैले अघिनै भने–आधुनिक खेतीपाती गरौभन्ने कारणले गर्दा मेरी आमा सदैव के ठान्नु भयो भन्दा यतिका वर्ष मैले पाइआएको ज्ञान त बेकार रहेछ । यो ज्ञान त काम नलाग्ने रहेछ । वास्तविक ज्ञान त टनेलभित्र गोलभेडा उमार्नु रहेछ । उहाँले त्यो कुटो, कोदालोवाला, गोरुवाला, वा हलोले जोत्नेवाला विधि छोडिदिनु भयो । र उहाँले आफूलाई अज्ञानी सावित गरेर बाँच्न थाल्नुभयो ।’
मन्त्री पौडेलले सरकारले स्थानीय सरकारमार्फत नै उक्त सम्पदाहरुको संरक्षणमा जोड दिने नीति लिएको पनि दाबी समेत गरेका छन् ।

