काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोसी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका छन्। सम्पन्न मतगणनाको अन्तिम मत परिणामअनुसार २८० मत प्राप्त गर्दै प्रदेश सभापतिमा राई निर्वाचित भएका हुन् ।
निर्वाचनमा निवर्तमान कार्यवाहक सभापति गोमा तामाङ (सरिन) पराजित भइन् । उनले १४१ मत प्राप्त गरेकी छन् । सभापतिमा पराजित भएकी तामाङले मतदाताहरूलाई धन्यवाद दिँदै आजैबाट राजनीतिको बिट मारेको पनि घोषणा गरेकी छन् ।
पाँच वर्षे कार्यकाल रहेको प्रदेश समितिको सभापतिमा राई र तामाङसहित चार जना प्रतिस्पर्धामा उत्रिएका थिए । सभापतिका उम्मेदवारहरू मध्ये डा। खगेन्द्र कटुवालले ४१ र चन्द्रकुमार गौलीले २७ मत मात्रै प्राप्त गरेका थिए ।
सभापति पदका लागि भएको निर्वाचनमा ४९० मत खसेको मध्ये ४८९ मत सदर भई एक मत भने बदर भएको जनाइएको छ । सभापति निर्वाचित भएका राई मोरङको बेलबारीका बासिन्दा हुन् ।
सभापतिमा पराजित भएकी तामाङ यसअघि कार्यवाहक सभापति थिइन् । नवनिर्वाचित सभापति राईको पुख्र्यौली घर भोजपुरको दावा हो । उनका बुबा २०२० सालमा मोरङको होक्लाबारी झरेका हुन् ।

