काठमाडौं । नेपाली काँग्रेसका सांसद नरेन्द्र केरुङले मुलुकको राष्ट्रियता, सीमा सुरक्षा र जनजीविकाका गम्भीर सवालमा सरकार जवाफदेही नभएको आरोप लगाएका छन् ।
पाँच दिनको स्थगनपछि प्रारम्भ भएको प्रतिनिधिसभाको बैठकमा पुनः अवरोध सिर्जना भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद केरुङले यस्तो बताएका हुन् । सांसद केरुङले बजेटभन्दा मुलुकको अस्मिता र राष्ट्रियता महत्वपूर्ण हुने उल्लेख गर्दै सीमा सुरक्षाका विषयमा प्रधानमन्त्री वा सम्बन्धित निकायबाट चित्तबुझ्दो जवाफ नआएसम्म विरोध जारी रहने बताए । सत्ताधारी दलका सभापतिको भारत भ्रमणपछि आयोजना गरिएको सर्वदलीय बैठक निष्कर्षविहीन टुङ्गिएकाले संसदको गतिरोध अन्त्य हुन नसकेको उनको भनाइ छ । उनले सरकार कुनै एउटा दलको मात्र नभई सबै नागरिकको अभिभावक हुनुपर्ने र जनताका प्रश्नप्रति उत्तरदायी बन्नुपर्नेमा जोड दिए ।
विद्यार्थीका मोबाइल फोन नष्ट गरिएको घटनाप्रति कडा आपत्ति जनाउँदै सांसद केरुङले यसलाई ‘विवेकहीनताको पराकाष्ठा’ संज्ञा दिए । अभिभावकले पसिना बगाएर आफ्ना सन्तानका लागि खरिद गरिदिएको सम्पत्ति नष्ट गर्नु अन्यायपूर्ण भएको बताउँदै उनले सम्बन्धित विद्यार्थीलाई तत्काल क्षतिपूर्ति दिन माग गरेका छन् ।
उनले देशभर फैलिएको बाँदरको आतङ्कका कारण किसानहरू मारमा परेको र पहाडी क्षेत्रबाट बसाइँसराइ समेत बढेको भन्दै सरकारको ध्यानाकर्षण गराए । बालीनाली संरक्षणका लागि वन्यजन्तु विज्ञहरूसँग परामर्श गरी वातावरणमैत्री तवरले यस समस्याको उचित व्यवस्थापन गर्न आवश्यक नीति र कानून निर्माण गर्नुपर्ने उनको माग छ ।

