काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र साह तत्काल संसद आउन नसक्ने बताएका छन् ।
सोमवार सिंहदरवारमा बसेको सर्वदलीय बैठकमा नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ भनि दिएको अभिव्यक्तिबारे संसदमा नै आएर प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने अडान विपक्ष दलहरुले राखेपछि उनले तत्काल प्रधानमन्त्री संसदमा उपस्थित हुन नसक्ने बताएका हुन् ।
सभापति लामिछानेले सरकारको तर्फबाट उक्त विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिने पनि बताए । परराष्ट्रमन्त्रीको जवाफ चित्त नबुझे आफूले जवाफ दिने सभापति लामिछानेको भनाई थियो । बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रतिपक्ष दल नेकपाका प्रमुख सचेतक ऐनबहादुर महरले सभापति लामिछानेले प्रधानमन्त्री बालेन्द्र साहमाथि उठाइएको प्रश्नको जवाफ परराष्ट्रमन्त्री खनालले दिने बताएको जानकारी दिए । उनले प्रधानमन्त्री साह तत्काल संसदमा आउन नसक्ने पनि बताएको उनले बताए । बैठकले आफूहरुले प्रधानमन्त्रीले जवाफ नदिई अघि बढन नसकिने कुरा राखेको पनि प्रमुख सचेतक महरले बताएका छन् ।
उनले भने,‘यो गम्भिर विषय हो प्रधानमन्त्रीको स्टेटमेन्ट । हामी संसद खोल्न तयार छौँ । संसद अवरोध गर्ने हाम्रो रहर चाहना होइन । हामी पनि यसबाट मर्माहत भएका छौ । बजेट आएको छ । अरु कुरा आएको छ । धेरै इस्युहरु छ । ती विषयहरुमा छलफ गर्नुपर्नेछ । तर संसद खोल्ने वातावरण बनाउनुहोस् भनेर हामीले आग्रह ग¥यौै । त्यो भनेको प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिने । यो असाध्यै गम्भिर विषय हो । यो असाध्यै सिरियस विषय भएको हुनाले प्रधानमन्त्रीले संसदमा आएर नै जवाफ दिनुपर्छ । र, यसमा स्पष्ट बनाउनु पर्छ । यदि उहाँको त्यस्तो कुनै नियत होइन भने नत्र एउटा सार्वभौम देशको प्रधानमन्त्रीले अरु कुनै देशको भूमि मिचेको छ भन्ने संसदको रोष्टमबाट भन्ने कुरा यो असाध्यै राष्ट्रसँग जोडिएको, देशसँग जोडिएको विषय भएको हुनाले यो त्यति राम्रो हुँदैन । यो उनको रेकर्ड संसदबाट हटाउनु पर्दछ । यसलाई हामीले विस्मृतिमा लैजानु पर्दछ भनेर हामीले राखिसकेपछि सभापतिजीले दुई वटा कुरा गरे । पहिलो कुरा हामी दलमा पनि छलफल गर्छौं । दोस्रो कुरा सदनमा परराष्ट्रमन्त्रीजीले जवाफ दिनुहुन्छ । परराष्ट्र मन्त्रीले जवाफ दिएपछि आवश्यकता प¥यो भने मैले पनि जवाफ दिन्छु तर तर अहिले प्रधानमन्त्री आउन सक्नु हुन्न । उहाँले त्यसो भनिसकेपछि हामीले त्यसो हुँदैन । प्रधानमन्त्रीले जवाफ दिनुपर्छ भनेपछि बैठक सकियो ।’
बैठकमा सभापति लामिछानेले आफनो भारत भ्रमणबारे ब्रिफिङ गरेका थिए ।

