काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुने बताएको छ ।
सोमवार रास्वपा सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा उक्त विषयमा कुरा नमिलेपछि थप छलफल गरी अवरुद्ध संसद सुचारु गराउने विषयमा छलफल हुने निष्कर्षमा पुगिएको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए । उनले आफूहरुले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको अभिव्यक्ति परराष्ट्र मन्त्रालयको विषय भएकाले परराष्ट्रमन्त्रीले जवाफ दिँदा हुनेकुरा राखेको र त्यसमा विपक्षले प्रधानमन्त्रीकै जवाफ चाहिन्छ भन्ने अडान राखेपछि उक्त विषयमा थप छलफल आवश्यक रहेको पनि बताए । महामन्त्री बुर्लाकोटीले सभापति लामिछानेले प्रधानमन्त्रीको संसदको सम्बोधन विषयगत रुपमा प्रवेश भएकाले यसको जवाफ परराष्ट्रमन्त्री शिशिर खनालले दिँदा उपयुक्त हुने धारणा राख्नु भएको पनि बताए ।
उनले भने,‘अहिले सदनमा जारी गतिरोध अन्त्यका लागि पार्टी सभापति रवि लामिछानेज्युले अनुरोध गर्नुभयो । यो कति मुद्दाहरु हामीले छलफल गरेर, लामो छलफल गरेर मात्रै निराकरण हुन्छ । त्यो समाधान हुन्छ । अहिले यो विषय सदन अवरुद्ध हुने, गतिरोध छ । त्यसलाई निराकरण गरेर जानुपर्छ भन्ने हिसावमा सभापतिज्युबाट अनुरोध भयो । र त्यसमा दलहरुको तर्फबाट केही कुराहरु राखिएको छ । र यसमा चाहीँ सामान्यतया सरकारको तर्फबाट यसलाई प्रष्टयाउने, यसलाई स्पष्ट गर्ने गरी परराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयले त्यो विषयमा केही कुराहरु राखि पनि सक्यो । त्यसलाई आवश्यक प¥यो भने सदनमा पनि राख्न सकिन्छ भन्ने हिसावमा सभापतिज्यूले राख्नुभयो । अरु दलहरुको तर्फबाट यसमा छलफल गरेर मात्रै हामी अगाडि बढौ भन्ने कुरा छ ।अरु विषयमा लगभग अगाडि बढेर टुंगिसकेको अवस्था छ । भारत भ्रमण र समसामयिक विषयमा छलफल निष्कर्षमा पुगेको छ । र अहिले जुन सदनमा अवरोध छ । त्यो सदनको अवरोध हटाउने विषयमा छलफल धेरै अगाडि बढिसकेको छ । केही कुराहरु अझै बाँकि होकि जस्तो देखिन्छ । अव यो प्रधानमन्त्री मातहत विभिन्न विषयगत मन्त्रालयहरु छन । र, त्यो मन्त्रालयहरुले हेर्ने विषयहरुमा सम्बन्धित मन्त्रालयहरुले नै कृषिमा केही कुरा उठयो भने कृषि मन्त्रीले गर्ने कुराहरु हुन्छन । ऊर्जामा केही कुराहरु उठे, ऊर्जामन्त्रीले गर्ने कुराहरु हुन्छन् । परराष्ट्र मामिलाबारे केही कुराहरु उठे भने परराष्ट्रमन्त्रीले गर्ने कुराहरु हुन्छन । त्यो कारणले गर्दा सम्बन्धित मन्त्रीले नै सिंगो सरकारको प्रतिनिधित्व गरेर बोल्नै भनेकै त्यसमा प्रधानमन्त्री, सरकार र त्यो सरकारको नेतृत्व गर्ने राजनीतिक दल । यो सबैको जवाफ हो । त्यो विषय भएको कारणले गर्दा विषयगत विषयमा प्रवेश गरेको कारणले गर्दा यो विषयगत क्षेत्रबाटै अगाडि बढाउनु पर्दछ भन्ने विषयमा छलफलहरु भयो । मैले त छलफल भएको कुरा राखिराखेको छु नि त । सरकारको तर्फबाट प्रधानमन्त्री वा मन्त्री वा पार्टीको नेतृत्व तहबाट कुराहरु आयो भने त्यसलाई ठिक ढंगले सम्बोधन गर्ने कुरा त विषयगतमा छिर्छ । त्यो कारणले विषयगत रुपमा यो कुरालाई सम्बोधन गरौ भन्ने हिसावमा छलफल भयो । होइन यसमा प्रधानमन्त्री आउनु भएदेखि उपयुक्त हुन्थ्यो, राम्रो हुन्थ्यो भन्ने हिसावमा दलहरुको कुरा छ । यो विषय अहिले दलहरुको बीचमा छलफल भईराखेको छ । त्यो कारणले सर्वदलीय बैठकमा छलफल गरिएको हो । यो विषयगत भएको कारणले विषयगत रुपमा नै छलफल अगाडि बढाऔ भन्ने भएको छ । र, यसमा आवश्यक्ता प¥यो भने थप छलफल हुन्छ ।’
महामन्त्री बुर्लाकोटीले परराष्ट्र मामिलाको विषयलाई ठिक ढंगले सम्बोधन गर्ने काम परराष्ट्र मन्त्रालयले गर्ने पनि बताएका छन् ।

