काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारले गरिबी र गरिबबीचको आधारभूत भिन्नता बुझ्न नसक्दा समस्या उत्पन्न भएको बताएका छन् ।
उनले सरकारको हस्तक्षेप गरिबी निवारणतर्फ केन्द्रित हुनुपर्नेमा गरिबलाई नै हटाउनेतर्फ मोडिएको भन्दै आलोचना गरेका हुन् । शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले सुकुम्बासी र भूमिहीन नागरिकका समस्यालाई मानवीय दृष्टिले सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
सफाइका नाममा मानिसलाई उठिबास लगाउनु गलत भएको उनको भनाइ छ । सरकारको कार्यशैलीमाथि टिप्पणी गर्दै उनले प्रतिपक्षी दलको हैसियतले सरकारलाई बाटो देखाउनु र सम्झाउनु आफूहरूको कर्तव्य भएको बताउनु भयो । सुकुम्बासी बस्तीहरूमा सरकारले चलाएको डोजर र विस्थापनको प्रसङ्गलाई जोड्दै थापाले यसले नागरिकमा गम्भीर मनोवैज्ञानिक असर पारेको उल्लेख गरे ।
सभापति थापाले भने, ‘गरिब र गरिबी फरक कुरा हुन् । सरकारले लिनुपर्ने पहलकदमी गरिबीका विरुद्ध हुनुपथ्र्यो, तर गरिबलाई नै विस्थापित गरेर गरिबी हट्छ भन्नु सरकारको भ्रम हो । आफ्नो वासस्थानको टुङ्गो नहुँदा, छोराछोरीको शिक्षा र जीविकोपार्जन अन्योलमा पर्दा मानिसमा तिब्र तनाव, एन्जाइटी र डिप्रेसनको समस्या देखिन थालेको छ । खोला किनारका बस्ती कसैका लागि सामान्य देखिए पनि त्यहाँ बस्नेहरूका लागि त्यो घर हो । रातारात घर भत्काइँदा उनीहरूमा पर्ने मानसिक चोटप्रति राज्य संवेदनशील हुनुपर्छ ।
सभापति थापाले आफ्नो पार्टीका प्रतिनिधिहरूले होल्डिङ सेन्टर र प्रभावित क्षेत्रमा पुगेर गरेको अध्ययनको समेत चर्चा गरे । उनले सरकारी अवरोधका कारण सबै ठाउँमा अध्ययन गर्न सहज नभए पनि उपलब्ध तथ्याङ्कले विस्थापित नागरिकको अवस्था भयावह रहेको संकेत गरेको बताए । नागरिकका समस्याप्रति सहानुभूति राख्दै उनीहरूको न्यायका लागि उभिनु पार्टीको जिम्मेवारी भएको उनको भनाइ छ ।

