संसदप्रति उत्तरदायी बन्न सरकारलाई एमालेको आग्रह

काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले वर्तमान सरकारलाई जनमतको सम्मान गर्दै संसदप्रति उत्तरदायी बन्न आग्रह गरेका छन् ।

बुधवार संसद भवन परिसरमा बोल्दै विपक्षी बेन्चबाट रचनात्मक र सशक्त भुमिका निर्वाह गर्ने स्पष्ट पार्दै उनले सरकारका कामकारबाही संविधान र नियमावलीसम्मत हुनुपर्नेमा जोड दिएका हुन् । प्रमुख सचेतक महरले एमाले सधैँ विरोधका लागि विरोध गर्ने परम्पराको पक्षमा नरहेको उल्लेख गर्दै सरकारले जनहित र संविधान कार्यान्वयनमा गर्ने सकारात्मक कार्यलाई समर्थन गर्ने बताए । यद्यपि, सरकारले संविधानभन्दा माथि रहने कोशिस गरेमा वा स्वेच्छाचारी र तानाशाही प्रवृत्ति देखाएमा सशक्त आलोचना गर्ने उनको भनाइ छ । प्रतिनिधिसभा नियमावली र संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री नियमित रूपमा संसद्मा उपस्थित भई सांसदहरूका प्रश्नको जवाफ दिनुपर्ने महरले बताए । सत्तापक्षका मुख्य सचेतकले गरेको प्रतिवद्धताअनुसार प्रधानमन्त्री संसद्मा आउने विश्वासमा आफूहरूले सदनको कामकारबाही अघि बढाउन सहयोग गरेको उनले स्पष्ट पारे ।

उनले भने, ‘सदन तीन करोड नेपालीको आवाज प्रतिनिधित्व गर्ने सर्वोच्च थलो हो । प्रधानमन्त्रीले सदनमार्फत जनतालाई आफ्ना कामकारबाहीबारे जानकारी दिनुपर्छ । जनताका समस्या ज्यूँका त्यूँ छन्, तर सरकार प्रचारमुखी काममा मात्र केन्द्रित देखिएको छ । विद्युत, टेलिकम, शिक्षा र सुकुम्वासीका समस्या समाधानका लागि सरकारले ठोस योजना ल्याउन सकेको छैन ।’

प्रमुख सचेतक महरले मुलुकमा व्याप्त महँगी, बेरोजगारी र युवा पलायनजस्ता गम्भीर समस्या समाधानमा सरकार चुकेको आरोप लगाए । पछिल्लो तीन महिनामा मात्रै तीन लाखभन्दा बढी युवा वैदेशिक रोजगारीमा जानु दुःखद् रहेको भन्दै उनले राष्ट्रिय गौरवका आयोजना, उत्तर–दक्षिण कोरिडर र हुलाकी राजमार्ग जस्ता भौतिक पूर्वाधारको सुस्त गतिप्रति प्रश्न उठाएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार