काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रिय सभाबाट उत्पति भएर आएको चलचित्रसम्बन्धि विधेयकमा उठेका प्रश्नको जवाफ सरकारले दिने अवस्था नभएको बताएका छन् ।
उक्त विधेयक निर्माणमा वर्तमान सरकार सहभागी नभएकाले त्यसबारे सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिन सकिने अवस्था नरहेको मन्त्री तिमिल्सिनाको जिकिर थियो । बुधवार प्रतिनिधि सभा बैठकमा सो विधेयकमाथि सांसदहरुले विभिन्न प्रश्न उठाएका थिए । मन्त्री तिमिल्सिनाले सांसदहरुले छलफलको क्रममा उठाएको विषयवस्तुलाई गम्भिरतापूर्वक लिएको तर जवाफ दिने अवस्थामा सरकार नरहेको बताए । राष्ट्रिय सभामा उत्पति भएर सोझै प्रतिनिधिसभामा छलफलका लागि आएकाले सो विधेयकबारे सरकारले उठेका प्रश्नहरुको जवाफ दिने अवस्था नरहेको मन्त्री तिमिल्सिनासको स्पष्टिकरण थियो । त्यस अवसरमा उनले सो विधेयकलाई समसायमिक रुपमा समृद्ध बनाउने ठाउँ रहेकाले त्यसमा सरकार गम्भिर भएर लाग्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
उनले भने, ‘यो विधेयकको नामले नै राष्ट्रिय सभामा उत्पति भएको हो । यहाँबाट नै यहाँहरुले जानकारी पाइसक्नुभएको कि यो विधेयक राष्ट्रिय सभाबाट सोझै प्रतिनिधि सभामा आएको हो । यसमा अहिलेको सरकार एउटा अविछिन्न प्रक्रियाको हिसावले जिम्मेवार छ । त्यो भन्दा बाहेक अहिलेको सरकारले यसमा आफनो केही पनि इनपुट राख्न पाएको छैन । तर आजको सम्मानित सदनमा तपाई सम्पूर्ण माननीय सदस्यहरुले उठाउनु भएको सवाल हामीले गम्भिरतापूर्वक लिएका छौ । मैले अनौपचारिक रुपमा पनि म यो मन्त्रालयमा आएपछि विभिन्न चलचित्रसँग सम्बन्धित व्यक्तित्वहरुलाई भेटदा, मेरो पहल अथवा उहाँको पहलमा । यस विधेयकमा धेरै विषयहरुमा ध्यानाकर्षण भएको छ । आज जसरी माननीयज्यूहरुले विभिन्न विषय र प्रसंगहरु उठाउनु भयो । यो विधेयक अहिलेको समय अनुसार भयो कि भएन ? आजको चलचित्र क्षेत्रले के खोजिरहेको छ रु सरकार र सदनबाट के अपेक्षा गरेको छ ? अव चलचित्र कस्तो बन्नु पर्दछ ? चलचित्रप्रतिको बुझाई कस्तो हुुनपर्छ ? ५७ वर्ष पर्खिसकेपछिको जु्न लिगल रिफर्ममा हामी जाँदैछौ । त्यसले सम्बोधन गर्नुपर्ने विषयहरु के के हो ? सबभन्दा ठूलो संसद जनतहरुको सार्वभौम थलो, हामी यहाँ चलचित्र क्षेत्रलाई प्रतिनिधित्व गर्ने व्यक्तिहरु पनि छौ । त्यो हिसावले सरकारको रोल हुँदाखेरी आएका प्रश्नहरुलाई क्रिटिकल्ली लिएर कहाँ कसरी यो विधेयकलाई बलियो बनाउन सकिन्छ ? समयसापेक्ष बनाउन सकिन्छ ? आधुनिक बनाउन सकिन्छ ? र यो क्षेत्रलाई नै उचाल्ने खालको अहिलेको हाम्रो शासन व्यवस्था, अहिलेको समय, अहिलेको विश्व परिवेश सबैलाई ध्यानमा राखेर यसलाई अघि बढाउने हामीसँग समय पनि छ । त्यो स्पेश पनि छ । हामी प्रत्यक्ष रुपमा इन्भल्भ भएर यो विधेयक तयार नभएको हुनाले यो यो कारणले यो अवस्था आएको हो भनेर सरकारले भन्ने स्थिति रहेन ।’
मन्त्री तिमिल्सिनाले चलचित्र क्षेत्रमा देखिएको समस्या समाधानका लागि आफूले सम्बन्धित क्षेत्रसँग गम्भिरतापूर्वक छलफल अघि बढाएको पनि बताएका छन् ।

