११ जेठ । गण्डकी र बागमती प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । दुवै प्रदेशमा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेट केन्द्रित अधिवेशन सञ्चालन हुन लागेको हो ।
गण्डकी प्रदेशसभाको बैठक आज अपराह्न २ बजे बस्नेछ । बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफलका लागि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिए । प्रदेश प्रमुख डिल्लीराज भट्ट ले प्रदेश सरकार तथा मन्त्रिपरिषद्को सिफारिसमा यही जेठ ५ गते बजेट अधिवेशन आह्वान गरेका थिए ।
यस्तै, बागमती प्रदेशसभाको वर्षे अधिवेशन पनि आजदेखि सुरु हुँदैछ । दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्रीसहित प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरूले धारणा राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा ले प्रदेश सरकारको सिफारिसमा संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम अधिवेशन आह्वान गरेका हुन् ।
दुवै प्रदेशका बजेट अधिवेशनमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिने जनाइएको छ ।

