महालेखा परिक्षकः थपियो एक वर्षमै ८८ अर्ब बढी बेरुजु

काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ मा यस वर्षको लेखापरीक्षणबाट कुल ८८ अर्ब ९ करोड ११ लाख रुपैयाँ बेरुजु कायम भएको छ । महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको ६३औँ वार्षिक प्रतिवेदन उक्त बेरुजु देखिएको हो ।

महालेखा परिक्षकको कार्यालयको प्रतिवेदन अनुसार जम्मा बेरुजुमध्ये संघीय सरकारी कार्यालयतर्फ ५३ अर्ब ४८ करोड ७७ लाख रहेको छ भने प्रदेशतर्फ ५ अर्ब २२ करोड ८७ लाख रहेको छ । स्थानीय तहतर्फ १९ अर्ब ४ करोड ७७ लाख र समिति एवं अन्य संस्थातर्फ १० अर्ब ३२ करोड ७० लाख रहेको छ ।

त्यस्तै, नेपालको अद्यावधिक बेरुजु ७ खर्ब ५५ अर्ब १७ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा २.९९ प्रतिशतले बढी हो । अद्यावधिक बेरुजुमा संघीय कार्यालयको हिस्सा ३ खर्ब ७८ अर्ब ५४ करोड र स्थानीय तहको २ खर्ब २० अर्ब ४७ करोड रहेको छ ।

लेखापरीक्षणको प्रभाव स्वरूप यस वर्ष कुल १४ अर्ब ६३ करोड २७ लाख रुपैयाँ असुल भई राजस्व खातामा जम्मा भएको प्रतिवेदनमा उल्लेख छ । यस वर्ष ६३ अर्ब १२ करोड ९५ लाख बराबरको बेरुजु सम्परीक्षण गरिएको छ ।

आर्थिक वर्ष २०८१/०८२ मा कुल ५ हजार ५२६ निकायको ९४ खर्ब ८४ अर्ब ५० करोड रुपैयाँ बराबरको लेखापरीक्षण सम्पन्न भएको छ । जसमध्ये संघीय मन्त्रालय तथा निकायतर्फ ३ हजार ५० कार्यालयको २९ खर्ब १७ अर्ब ९५ करोड, प्रदेशतर्फ १ हजार १२४ कार्यालयको ३ खर्ब २० अर्ब ३० करोड र स्थानीय तहतर्फ ७२१ निकायको ११ खर्ब ९ अर्ब ५२ करोडको लेखापरीक्षण गरिएको छ ।

समिति एवं अन्य संस्थातर्फ ५७७ निकायको ४ खर्ब ४७ अर्ब ७७ करोड लेखापरीक्षण गरिएको छ । यस्तै, ४४ वटा संगठित संस्थाको ४६ खर्ब ८८ अर्ब ९६ करोडको लेखापरीक्षण सम्पन्न भएको प्रतिवेदनमा उल्लेख छ ।

सम्बन्धित समाचार

ताजा समाचार