‘अनुसन्धान’ बिना विकास अधुरो हुन्छः मन्त्रालयको नाम सच्याउन महावीर पुनको सुझाव

काठमाडौं । म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद महावीर पुनले सरकारले ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ गठन गर्ने निर्णयलाई सकारात्मक कदम भन्दै स्वागत गरेका छन् ।

प्रतिनिधीसभामा बजेटमाथिको छलफलका क्रममा उनले मन्त्रालयको नाममै ‘अनुसन्धान’ शब्द छुटाइएको भन्दै त्यसलाई सच्याउन सुझाव दिएका छन् । पुनले विज्ञान र प्रविधिको विकास अनुसन्धानबिना सम्भव नहुने तर्क गर्दै प्रस्तावित मन्त्रालयको नाम ‘विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय’ राख्नुपर्ने धारणा व्यक्त गरे । उनले नीति तथा कार्यक्रममा अनुसन्धान र विकासका लागि पर्याप्त बजेट सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने बताए । उनका अनुसार नेपालजस्तो मुलुकमा तत्काल जीडीपीको १ प्रतिशत अनुसन्धान क्षेत्रमा लगानी गर्न कठिन भए पनि कम्तीमा पुँजीगत खर्चको १ प्रतिशत रकम अनुसन्धान र विकासमा छुट्याएर सुरुवात गर्न सकिने अवस्था छ ।

शिक्षा क्षेत्रको समस्यातर्फ ध्यानाकर्षण गराउँदै पुनले २०५६ सालयता शिक्षकको स्थायी दरबन्दी नबढाइएको उल्लेख गरे । त्यसकै कारण अहिले करिब ४५ हजार राहत शिक्षक अन्योलमा परेको भन्दै उनले उनीहरूलाई स्थायी प्रक्रियामा लैजान आग्रह गरे । मधेश प्रदेशको शिक्षा अवस्थाबारे पनि उनले चिन्ता व्यक्त गरे । आफू किताब बेच्न मधेश पुगेको अनुभव सुनाउँदै उनले आठवटै जिल्ला अझै पूर्ण साक्षर घोषणा हुन नसक्नु दुःखद भएको बताए ।

आफ्नो बोल्ने समय सकिनै लाग्दा पुनले प्रधानमन्त्रीको अन्तर्राष्ट्रिय छवि र प्रतिष्ठिको प्रसंग पनि उठाए । विज्ञान, शिक्षा र अनुसन्धानजस्ता आधारभूत विषयलाई सरकारले प्राथमिकता नदिए अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा नकारात्मक सन्देश जाने खतरा रहेको भन्दै उनले सरकारलाई समयमै सचेत हुन आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार