“आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन” — हर्क साम्पाङ

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा हर्क साम्पाङले प्रधानमन्त्री स्वयं उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने अडान दोहो¥याएका छन् ।

उनले प्रधानमन्त्री उपस्थित नभए आफ्नो दल ‘श्रम संस्कृति’ बैठकबाट बाहिरिने चेतावनीसमेत दिएका छन् । सांसद साम्पाङले प्रधानमन्त्री उपस्थित नभई अरू मन्त्रीमार्फत जवाफ दिनु उचित नहुने तर्क गर्दै व्यंग्यात्मक शैलीमा भने, “आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन । त्यसकारण उहाँले नै उत्तर दिनुपर्ने हुन्छ ।” उनले प्रधानमन्त्रीले संसद्मा उठेका प्रश्न र आलोचना प्रत्यक्ष रूपमा सुन्नुपर्ने धारणा राख्दै भने, “म माग गर्न चाहन्छु, प्रधानमन्त्री यहाँ उपस्थित भएर उहाँले छलफल सुन्नुभएन । तर उत्तर दिने क्रममा उहाँ आउनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।”

साम्पाङले प्रधानमन्त्री अनुपस्थित भए संसद्को गरिमा कमजोर हुने टिप्पणी गर्दै भने, “यदि उहाँ आउनुहुन्न भने श्रम संस्कृति बाहिरिनेछौं । हामीले अरूबाट सुन्नुपर्ने स्थिति होइन ।” साम्पाङले संसद्मा जनताको आवाज सुन्ने संस्कार कमजोर बन्दै गएको आरोप लगाए । उनले प्रधानमन्त्री संसद्मा उपस्थित भएर प्रत्यक्ष रूपमा सांसदहरूको जिज्ञासाको सामना गर्नुपर्ने बताएका थिए । उनको भाषणमा व्यंग्य, उखान र जनभाषाको प्रयोग बढी देखिएको थियो ।

उनले सरकारलाई लक्षित गर्दै “जनताले चुनेर पठाएको संसद्लाई औपचारिकता मात्रै बनाइयो भने त्यसको अर्थ रहँदैन” भन्ने आशयसमेत व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार