काठमाडौं । देउवादम्पती एक महिनादेखि सम्पर्कविहीन छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २५ चैतमा पक्राउ पुर्जी जारी गरेलगत्तै उनीहरू सम्पर्कविहीन बनेका हुन् । यद्यपि, उनीहरूलाई इन्टरपोलको सहयोगमा भए पनि स्वदेश झिकाउन प्रहरीले पहल गरिरहेको छ ।
पक्राउ पुर्जी जारी गर्नुअघि नै हङकङ गएका उनीहरूविरुद्ध विभागले प्रहरीमार्फत रेड नोटिस जारी गर्न दुईपटक पत्राचार गरिसकेको छ । प्रहरीको सूचनामा देउवादम्पती हङकङमै छन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवादम्पतीको सम्पत्तिका सम्बन्धमा छानबिन गरिरहेको छ । जेन–जी आन्दोलनका क्रममा उनीहरूको घरमा भेटिएको पैसा र त्यससम्बन्धी सार्वजनिक भिडियो ‘फेक’ नभएको निष्कर्षपछि विभागले काठमाडौं जिल्ला अदालतसँग देउवादम्पतीविरुद्ध पक्राउ अनुमति माग गरेको थियो । अदालतले त्यही वेला उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

