नेकपाले आगामी मङ्सिरको दोस्रो हप्ता एकता महाधिवेशन गर्ने

काठमाडौैं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मङ्सिरको दोस्रो हप्ता एकता महाधिवेशन गर्ने भएको छ । त्यसका लागि नेकपाले जेठ मसान्तसम्म एकता प्रक्रियामा जोडिएका सबै घटकसँग एकीकरण र समायोजनको काम सक्ने भएको छ ।

एकीकरण र समायोजन काम सकिएसँगै सङ्गठन सुदृढीकरण र शुद्धीकरण अभियान चलाइने र पार्टीका नेता तथा कार्यकर्ताहरूको कार्यशैली, जीवनशैली र आचरण सुधारका लागि पहल अगाडि बढाइने नेकपाको अन्तरपार्टी निर्देशन (अपानी)–३ मा उल्लेख छ ।

‘आजको वस्तुगत परिस्थितिमा आम जनतासँग घनिष्ट रूपमा जोडिएको कान्तिकारी कम्युनिस्ट पार्टी निर्माणको वैचारिक, राजनीतिक, साङ्गठनिक तथा सांस्कृतिक स्पष्टतासहित आगामी मङ्सिरको दोस्रो हप्तामा पार्टीको एकता महाधिवेशन सम्पन्न गरिने छ’, संयोजक र सहसंयोजकले शनिबार हस्ताक्षर गरेको अपानीमा भनिएको छ ।

वडादेखि केन्द्रसम्मका सबै निर्वाचित पार्टी समितिहरू समावेशी मान्यताअनुसार गठन गरिने, सबै समितिहरूमा पाका, अनुभवी, प्रौढ तथा युवाहरूको समावेशिता सुनिश्चित गरिनेछ, जसमा युवा तथा नवयुवाहरूको प्रतिनिधित्व ५० प्रतिशतसम्म पुर्याउन विशेष जोड दिएको छ ।

साथै सिङ्गो नेपाली कम्युनिस्ट आन्दोलनको पुनःएकीकरण गर्दै एकीकृत कम्युनिस्ट पार्टी निर्माणका लागि समेत विशेष पहल गरिने भनिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार