देउवाविरुद्ध ‘रेड नोटिस’ जारी गराउने प्रक्रिया अगाडि बढ्ने

काठमाडौं । नेपाली कांग्रेसका पुर्व सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध ‘रेड नोटिस’ जारी गराउने प्रक्रिया अगाडि बढ्ने भएको छ ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले गत २४ चैतमा पक्राउ पुर्जी जारी गरेपछि नेपाल प्रहरीको नेसनल सेन्ट्रल ब्यूरोले इन्टरपोललाई पत्राचार गरेको थियो ।

इन्टरपोलले रेड नोटिस जारी गर्न केही थप कागजातहरू मागेपछि प्रहरी प्रधान कार्यालयले अन्य विवरणहरू पठाएको स्रोतले जानकारी दिएको छ।

गत १४ फागुनमा उपचारको गर्ने भन्दै सिङ्गापुर प्रस्थान गरेका देउवा दम्पती त्यसयता नेपाल फर्केका छैनन्। उनीहरू सिङ्गापुरबाट ७ चैतमा हङकङ गएको र हाल पनि त्यहीँ रहेको आशंका गरिएको छ।

यसअघि पनि आन्दोलनका क्रममा विदेश गएर फर्केका उनीहरू यसपटक भने पक्राउ पुर्जी जारी भएपछि उतै रोकिएका हुन्। इन्टरपोलले रेड नोटिस जारी गरेमा यसका १९६ सदस्य राष्ट्रहरूले देउवा दम्पतीलाई जहाँ भेटे पनि पक्राउ गर्न सक्नेछन्।

रेड नोटिस जारी भएपछि उनीहरूलाई पक्राउ गरी कानुनी प्रक्रिया मार्फत नेपाल ल्याउने बाटो खुल्नेछ।

 

सम्बन्धित समाचार

ताजा समाचार