काठमाडौं । सन् २०२६ को अप्रिल महिनामा नेपालमा एक लाख ७ हजारभन्दा बढी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२६ को अप्रिलमा नेपालमा विदेशी पर्यटक आगमन एक लाख ७ हजार ९३४ पर्यटक भित्रिएका हुन् ।
बोर्डको तथ्यांकअनुसार क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसिया (सार्क) बाट सबैभन्दा बढी ३३ हजार ४३२ पर्यटक भित्रिएका छन् । जुन कुल आगमनको ३१ प्रतिशत हो ।
त्यसपछि दक्षिण एसियाबाट एसियाली राष्ट्रबाट २६ हजार ७ २६ पर्यटक भित्रिएका छन् । युरोपबाट २१ हजार ९८८, ओसिनियाबाट ५ हजार ८९८, अमेरिकाबाट २ हजार ५१८, पश्चिम एसियाबाट एक हजार ६९७ र अफ्रिकी मुलुकबाट ३१५ र अन्य मुलुकबाट १५ हजार ३६० पर्यटक भित्रिएका छन् ।
मुलुकगत रूपमा भारतपछि चीन प्रमुख स्रोत बजारका रूपमा देखिएको छ भने अन्य एशियाली मुलुकहरू, युरोप र अमेरिकाबाट आउने पर्यटकहरूको संख्या पनि क्रमशः बढ्दो क्रममा रहेको छ ।
यसले नेपालको पर्यटन बजार एकल निर्भरताबाट बहुस्रोततर्फ विस्तार भइरहेको संकेत गर्दछ । देशगत तथ्यांक हेर्दा सैबभन्दा बढी १५ हजार १९६ र दोस्रोमा चीनबाट ११ हजार ७२२ पर्यटक भित्रिएका छन् भने तेस्रोमा बंगलादेशबाट ५ हजार २३१ पर्यटक भित्रिएका छन् ।
सन् २०२५ को अप्रिलमा एक लाख १६ हजार ४९० पर्यटक भित्रिएका थिए भने कोरोना महामारी अघि सन् २०१९ को अप्रिलमा एक लाख ९ हजार ३९९ पर्यटक भित्रिएका थिए ।
पछिल्लो समय पश्चिम एसियामा चर्किँदो द्वन्द्वका कारण हवाई पहुँचमा अवरोध सिर्जना, अन्तर्राष्ट्रिय प्रवर्द्धन प्रभावितलगायतका कारण अप्रिलमा पर्यटक आगमनमा केही असर परेको बोर्डको भनाइ छ ।

