आदर्श श्रेष्ठको नियुक्ति प्रधानमन्त्रीको एकप्रकारकाे `नेपाेटिजम´

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय प्रकृति संरक्षण कोषमा गरेको पछिल्लो नियुक्तिलाई लिएर सञ्चारकर्मी तथा नागरिक तहमा आलोचना सुरु भएको छ। विशेषगरी प्रकृति संरक्षणका क्षेत्रमा कुनै विज्ञता नभएका आफ्ना पिए आदर्श श्रेष्ठलाई कोषको जिम्मेवारी दिइएको विषयमा पत्रकार जगन्नाथ दुलालले कडा टिप्पणी गर्दै यसलाई ‘अख्तियारको दुरुपयोग’ र ‘नेपोटिजम’ (नातावाद) को संज्ञा दिएका छन्।

प्रधानमन्त्री कार्कीले आफ्नो कार्यकालको उत्तरार्द्धमा आएर गरेको यो निर्णयले उनको ‘आदर्श’ माथि नै प्रश्न उठाएको दुलालको तर्क छ। “सुशासनको नारा दिएर भएको ‘जेनजी मुभमेन्ट’ पछि बनेकी प्रधानमन्त्रीबाट यस्तो आसेपासेवादको अपेक्षा गरिएको थिएन,” उनले लेखेका छन्, “निर्वाचन गराएर देशलाई ठूलो गुन लगाएकी कार्कीले यसरी चुक्नु हुँदैनथ्यो।”

विज्ञतालाई पन्छाएर राजनीतिक वा व्यक्तिगत निकटताका आधारमा संस्थाको नेतृत्व चयन गरिनुले सुशासन र पारदर्शिताको उपहास भएको आलोचकहरूको भनाइ छ। विशेषगरी वातावरण र प्रकृति संरक्षण जस्तो प्राविधिक र संवेदनशील निकायमा सम्बन्धित क्षेत्रको ज्ञान नभएको व्यक्तिको नियुक्तिले संस्थाको भविष्यमाथि नै जोखिम निम्त्याउन सक्ने भन्दै पत्रकार दुलालले प्रधानमन्त्रीको यो कदमलाई ‘अख्तियारको दुरुपयोग’ का रूपमा व्याख्या गरेका छन्।
यो नियुक्तिसँगै सामाजिक सञ्जाल र सार्वजनिक वृत्तमा नयाँ सरकारको कार्यशैली र सुशासनप्रतिको प्रतिबद्धतामा प्रश्न उठेकाे छ ।

सम्बन्धित समाचार

ताजा समाचार