इन्धन र ग्यास अनावश्यक भण्डारण गरे कारबाही हुने

नेपाल आयल निगमले विश्व बजारमा देखिन सक्ने पेट्रोलियम पदार्थको असहज परिस्थिति मध्यनजर गर्दै उपभोक्तालाई इन्धन र खाना पकाउने एलपी ग्यास मितव्ययी प्रयोग गर्न विशेष अपिल गरेको छ ।निगमले बुधबार विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय स्तरमा देखिएको समस्याका कारण भविष्यमा पर्न सक्ने सम्भावित प्रभावबाट बच्न पूर्वसावधानी अपनाउन सबैमा अनुरोध गरेको हो ।निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थ र ग्यास आवश्यक परिमाणमा मात्र खरिद गर्न तथा अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ ।

विशेषगरी मासिक एक सिलिन्डर मात्र ग्यास खपत हुने परिवारले थप सिलिन्डर नभर्न र खाना पकाउनका लागि ग्यासको सट्टा विद्युतीय उपकरण प्रयोग बढाउन निगमले सुझाव दिएको छ ।त्यस्तै इन्धन बचतका लागि सवारीसाधनमा ‘राइड सेयरिङ’ को व्यवस्था मिलाउन र विद्युत्का लागि जेनेरेटर जस्ता बढी इन्धन खपत हुने उपकरण प्रयोग नगर्न समेत निगमले उपभोक्तालाई अनुरोध गरेको छ ।

निगमले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेहरूमाथि कारबाहीको चेतावनी दिएको छ । कसैले अनावश्यक रूपमा ग्यास सिलिन्डर होल्डिङ गरेको, तोकिएभन्दा बढी मूल्य लिएर बिक्री गरेको वा नयाँ सिलिन्डरको अनावश्यक बजारीकरण गरेको पाइए नेपाल सरकारको प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने बताएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार