रौतहटको गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा दुई समुदायबीच झडप भएपछि अवस्था तनावपूर्ण बनेको छ । बिहीबार राति हिन्दू समुदायको विवाहमा जाँदा बाजागाजा बजाइएको विषयलाई लिएर मुस्लिम समुदायसँग विवादबाट शुरू भएको थियो । मस्जिदमा रात्रि प्रार्थना भइरहेको समयमा बाजा बजाएको भन्दै भनाभन बढेपछि केही व्यक्तिमाथि कुटपिटसमेत भएको जनाईएको छ । उक्त घटनापछि शुक्रबार बिहानैदेखि पुनः दुवै पक्षबीच झडप भई ढुंगामुढा शुरू भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रशासनले तत्काल सुरक्षा व्यवस्था कडा पारी यो खबर तयार पार्दा सम्म अवस्था सामान्य बनेको एक अधिकारीले बताएका छन् । रौतहटमा घटेको यस किसिमको घटनाले देशमा जातिय तथा धार्मिक द्वन्दको खतरा बढेको भन्दै स्थानियहरु त्रसित बनेका छन् । सम्भाव्य घटना नियन्त्रणका लागी सम्बन्धित निकायहरु तैनाथ रहेको पनि बताईएको छ ।

