नेपाली कांग्रेसका सभापति गगन थापाले कानून निर्माण प्रक्रियालाई छिटो बनाउने तर विधायिकाको अधिकार संकुचित नगर्ने बताएका छन् ।बिहीबार आयोजित कांग्रेसको चुनावी प्रतिज्ञामा गगन थापासँग सवाल–जवाफ कार्यक्रममा बोल्दै उनले फास्ट ट्र्याक लेजिस्लेसनको अवधारणा अधिकार कटौतीका लागि नभई परिणाम छिटो दिनका लागि मात्र भएको स्पष्ट पारेका हुन् ।
उनले संसदीय समितिहरूलाई थप प्रभावकारी बनाउने, आवश्यक स्रोतसाधन उपलब्ध गराउने तथा संसदबाहिर रहेका सरोकारवालाहरूलाई पनि विधेयक छलफलमा सहभागी हुने वातावरण बनाउने कांग्रेसको योजना रहेको बताएका छन् थापाले विद्यालय ऐन, स्वास्थ्य ऐन, दलित अधिकार कार्यान्वयनसम्बन्धी ऐन तथा सुरक्षा र प्रहरी व्यवस्थासँग सम्बन्धित कानुनहरू समयमै ल्याउन नसकिएको उल्लेख गर्दै संसदको विधायिक क्षमता बढाएर ती ऐनहरू छिटो टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गरे।
उनले फास्ट ट्र्याक कानून निर्माणका नाममा सांसदहरूको विधायिक अधिकार संकुचित गर्ने काम नगर्ने स्पष्ट पारेका छन् । यसैगरी, पूँजीबजार सुधारलाई पनि कांग्रेसले प्राथमिकतामा राखेको उनले बताए। इन्साइडर ट्रेडिङ तथा अस्वाभाविक चलखेल रोक्न अत्याधुनिक निगरानी प्रणाली लागू गरिने, साना लगानीकर्ताको हितका लागि लगानीकर्ता संरक्षण कोषलाई प्रभावकारी बनाइ पूर्ण कार्यान्वयनमा लैजाने उनले बताएका छन् ।।

