काठमाडौं । सरकारले नेपाली सेनाका एक जना महासेनानीलाई सहायक रथीमा बढुवा गरेको छ । आईतवार सञ्चार सूचना तथा प्रविधि मन्त्रालयमा मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता जगदीश खरेलले यसबारे जानकारी दिएका हुन् ।
उनकाअनुसार एक जना सहायक रथीको सरुवा गरिएको छ । बैठकले मानव–बाघ अन्तरसम्बन्ध व्यवस्थापन परियोजनाका लागि विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु कोषमार्फत प्राप्त हुने अमेरिकी डलर ३६ लाख २१ हजार ९ सय ८३ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता खरेलले जानकारी दिए । उनकाअनुसार स्वच्छ वायु तथा समृद्धि परियोजनाका लागि सहुलियतपूर्ण ऋण तथा अनुदान सहायता प्राप्त गर्ने विषयमा विश्व बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरिएको छ ।
बैठकले राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गरेको उहाँले बताउनु भयो । नेपाल इन्जिनियरिङ सेवा अन्तर्गत जियोलोजी समूह, हाइड्रो–जियोलोजी उपसमूहका राप प्रथम श्रेणीका अधिकृत देवकुमार स्याङ्वोलाई ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय वा मातहतको निकायमा पदस्थापन गर्ने निर्णय भएको छ । जलस्रोत तथा सिंचाई विभागमा कार्यरत सुपरिटेन्डिङ इन्जिनियर सुशिलकुमार देवकोटाले पेश गरेको राजीनामा स्वीकृत गरिएको छ । सहकारी क्षेत्रमा देखिएका बेथितिसम्बन्धी छानबिनका लागि उच्च अदालतका पूर्व न्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा ‘सहकारी जाँचबुझ आयोग २०८२’ गठन गर्ने निर्णय पनि गरिएको प्रवक्ता खरेलले जानकारी दिएका छन् ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को उपाध्यक्ष पदमा रौतहटका मोहम्मद सफी उल्लाहलाई मनोनयन गर्ने निर्णय पनि बैठकले गरेको छ । अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिताअन्तर्गत, २०८२ फागुन १२ गते जापानको टोकियोमा आयोजना हुने जापान–नेपाल इम्प्लोयमेन्ट कन्फ्रेन्सको दोस्रो संस्करणमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा। दीपक काफ्लेलाई स्वीकृति प्रदान गरिएको छ । २०८२ फागुन ४ देखि ७ गतेसम्म भुटानको थिम्पुमा आयोजना हुने ‘सेकेन्ड माउन्टेन कनेक्ट इन्टर–रिजनल वर्कसप’ मा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठलाई सहभागी हुन स्वीकृति दिइएको छ ।
त्यसैगरी, २०८२ फागुन १२ देखि १५ गतेसम्म थाइल्याण्डमा आयोजना हुने १३औँ एसिया–प्रशान्त सतत विकास फोरममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। प्रकाशकुमार श्रेष्ठको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुने निर्णय गरिएको छ ।

