विधानअनुसार विशेष महाधिवेशनले नेतृत्व परिवर्तन मात्रै गरेको विश्वप्रकाश शर्माको दाबी

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली काँग्रेस विभाजन नभएको बताएका छन् । आधिकारिकता सम्बन्धि जानकारी दिनका लागी शुक्रबार निर्वाचन आयोगमा पुगेका शर्माले काँग्रेस एकिकृत रहेको बताएका हुन् ।

उनले कांग्रेसको विधानअनुसार विशेष महाधिवेशनले नेतृत्व परिवर्तन मात्रै गरेको दाबी गरे । विशेष महाविधशनले गरेको निर्णय अनुरुप आयोगले अद्यावधिक गर्नुपर्ने उनको भनाई छ । उनले काँग्रेसको विवादमा आयोगले राजनीतिक दल विभाजन सम्बन्धि कुनैपनि कानून आकर्षित नहुने उल्लेख गरे । विशेष महाधिवेशन प्रतिनिधिहरुले गरेको महाधिवेशन नै वैधानिक र लोकतान्त्रिक प्रक्रिया भएको उनको भनाई छ । उनले विशेष महाधिवेशनले गरेको निर्णयलाई भ्रमपूर्ण प्रचार गरी पार्टी विभाजन गरिएको भनिएको आरोप पनि लगाए । उनले निर्वाचन आयोगलाई नै प्रभावमा पार्नेगरी आफूहरु पक्षको निर्णय नआए आन्दोलन गर्ने चेतावनी दिन गैरराजनितिक चरित्र भएको बताए । आयोगले निष्पक्ष रुपमा निर्णय गर्ने उनको विश्वास छ । उनले विधानअनुरुप नै महामन्त्रीको हैसियतले आफूहरुको विशेष महाधिवेशन गरेको बताए ।

उनले भने, ‘यो अहिले भएको प्रक्रियालाई नै लोकतन्त्र माथीको षड्यन्त्रको संज्ञा दिँदै गरेको देख्दाखेरी दुख व्यक्त गर्न चाहन्छु । किनभने विशेष महाधिवेशन भुँई तहका सदस्यहरुको, प्रतिनिधिहरुको सार्थक, वैधानिक र लोकतान्त्रिक प्रक्रिया हो । यसमा अलिकति भ्रम परेको जस्तो लाग्यो । यसलाई स्पष्ट गर्न चाहन्छु । किनभने केही बेर अगाडी पार्टी केन्द्रिय समितिको केन्द्रिय कार्यलयमा पत्रकार सम्मेलन गर्दैगर्दापनि निर्वाचन आयोगले हाम्रो पक्षमा निर्णय गरेन भने देशभर आन्दोलन गर्छौं भन्ने प्रकृतिको अभिव्यक्ति आएको छ । निर्वाचन आयोगले विधिसम्वत ढंगले नै निर्णय गर्दछ । विधिमा विश्वास गर्ने नेपाली काँग्रेस पार्टीले यसप्रति भरोसा गर्नुपर्छ । त्यो भ्रमका साथ आयो कि भन्ने लाग्छ, दल विभाजन भयो । दल विभाजन भईसकेपछि दाबी गर्न जानुपर्छ भन्ने लागेजस्तो लाग्यो । यद्यपि यो विभाजन भएको होइन । पार्टीको विधिसंवत प्रक्रियाबाट भएको विशेष महाधिवेशन हो । त्यसैले यसमा दल विभाजन सम्बन्धि कुनैपनि दफाहरु आकर्षित हुँदैन । हामीले विधिसंवत प्रक्रियाले विशेष महाधिवेशन गरेका छौँ । विशेष महाधिवेशनले केही नितिगत निर्णय गरेको छ । नेतृत्व परिवर्तन गरेको छ । त्यसलाई अद्यावधिक गर्नको लागी मात्रै हामी निर्वाचन आयोग आएका हौँ ।’

उनले विधानअनुसार नै विशेष महाधिवेशनको माग तत्कालिन कार्यबहाक सभापति पूर्णबहादुर खड्कालाई बुझाएको स्मरण समेत गरे । नियमित महाधिवेशन गरेको भए मात्रै विशेष महाधिवेशनको औचित्य सकिएको हुने उनको भनाई छ । नियमित अधिवेशन नभएपछि विशेष अधिवेशनको आह्वान आफूहरुले गरेको उनले बताए । विधान कार्यन्वयनको लागि पनि विशेष महाधिवेशन आवश्यक भएको उनले बताए ।

सम्बन्धित समाचार

ताजा समाचार