काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि चल्दै आएको आन्तरिक विवादले औपचारिक रुप लिँदै पार्टी गम्भीर संकटतर्फ उन्मुख भएको छ। पार्टीको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि निलम्बन गर्ने निर्णय गरेसँगै कांग्रेसभित्रको शक्ति संघर्ष निर्णायक मोडमा पुगेको छ।
संस्थापन पक्षको बहुमतका आधारमा गरिएको उक्त निर्णय विशेष महाधिवेशनको नाममा भृकुटीमण्डपमा अलग्गै नेतृत्व चयनको तयारी भइरहेका बेला आएको हो। पार्टी विधान र निर्णयविपरीत गतिविधि गरेको आरोप लगाउँदै तीनै जनामाथि कारबाही गरिएको केन्द्रीय कार्यसमिति स्रोतले जनाएको छ।
पार्टी नेतृत्वका अनुसार केन्द्रीय कार्यसमितिको निर्णयलाई चुनौती दिँदै समानान्तर संरचना निर्माण गर्ने, निर्वाचन प्रक्रिया अघि बढाउने र नेतृत्व चयनको घोषणा गर्ने गतिविधिले पार्टी अनुशासन उल्लंघन गरेको ठहर गरिएको छ। यही निष्कर्षका आधारमा अनुशासन समितिको सिफारिसअनुसार निलम्बनको निर्णय गरिएको जनाइएको छ।

