आफूविरुद्धका मुद्दा राजनीतिक प्रतिशोधको उपज भएको दाबी गर्दै रविको महान्यायाधिवक्तालाई निवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले आफूविरुद्ध दायर गरिएका मुद्दा फिर्ता लिन माग गर्दै महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका छन्। उनले सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी आरोपहरू राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको दाबी गर्दै ती मुद्दा खारेज गरिनुपर्ने माग गरेका हुन्।

लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा सहकारी ठगीसम्बन्धी मुद्दा विचाराधीन अवस्थामा छन्। सोही ठगी मुद्दासँग जोडेर सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग थपिएको भन्दै उनले आपत्ति जनाएका छन्। रुपन्देहीस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा केही समय प्रहरी हिरासतमा रहेका उनी हाल धरौटी र बैंक जमानतमा रिहा भएका छन्।

स्रोतका अनुसार थुनामुक्त भएपछि लामिछानेले पुनः पूरक निवेदन दर्ता गराएका हुन्। निवेदनमा उनले सहकारी ठगीको अभियोगमा मात्रै ठूलो कैद सजाय मागदाबी गर्न नसकिने भएपछि अनुसन्धानकर्ताले थप आरोप जोडेर मुद्दालाई गम्भीर बनाइएको जिकिर गरेका छन्।

सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग जोडिँदा १० वर्षभन्दा बढी कैद सजाय माग गर्न सकिने र त्यस्ता मुद्दामा थुनामा पठाउने कानुनी आधार बलियो हुने भएकाले आफूलाई लक्षित गरी अधिकतम राजनीतिक दबाब प्रयोग गरिएको उनको दाबी छ।

लामिछानेले ती आरोपहरू कानुनीभन्दा बढी राजनीतिक उद्देश्यबाट प्रेरित भएको उल्लेख गर्दै निष्पक्ष न्यायका लागि मुद्दा फिर्ता लिन आग्रह गरेका छन्।

सम्बन्धित समाचार

ताजा समाचार