काठमाडौं । लमजुङ जिल्ला, क्षेत्र ‘ख’ का महाधिवेशन प्रतिनिधि जिवन कुमार श्रेष्ठले लिखित प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
प्रतिबद्धता पत्रमा उनले नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित महाधिवेशन प्रतिनिधिको हैसियतमा पार्टीले आह्वान गरेको विशेष महाधिवेशनमा सहभागी नभएको उल्लेख गरेका छन् । पार्टीको विशेष महाधिवेशन विधिसम्मत, विधानअनुसार तथा आवश्यकताका आधारमा बोलाइएको जनाउँदै उनले उक्त महाधिवेशनबाट हुने निर्णय र प्रस्तावप्रति आफ्नो पूर्ण समर्थन रहने स्पष्ट पारेका छन् ।
पत्रमा उल्लेख भएअनुसार जारी विशेष महाधिवेशनमा भएको छलफल, निर्णय तथा प्रस्तावहरू पार्टीको हितमा रहेको र वर्तमान राजनीतिक परिस्थितिमा आवश्यक रहेको निष्कर्षसहित आफू पूर्ण रूपमा सहमत रहेको उल्लेख गरेका छन् । साथै उनले नेपाली कांग्रेसमा समयसापेक्ष परिवर्तन र सुदृढीकरण आवश्यक रहेको भन्दै त्यसका लागि विशेष महाधिवेशन अपरिहार्य रहेको धारणा व्यक्त गरेका छन् ।
महाधिवेशन प्रतिनिधि श्रेष्ठले पार्टीको एकता, अनुशासन र संगठनात्मक मजबुतीका लागि विधानबमोजिम आवश्यक निकास खोज्नुपर्नेमा जोड दिँदै, विशेष महाधिवेशनबाट हुने सबै निर्णय कार्यान्वयनमा आफ्नो पूर्ण साथ र समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिबद्धता पत्र मार्फत उनको हालको बसोबास संयुक्त राज्य अमेरिका रहेको उल्लेख छ ।


