काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन उद्घाटनकै दिन कुल दुई हजार ६६२ जना महाधिवेशन प्रतिनिधिको सहभागिता देखिएको छ, जुन कुल प्रतिनिधिको ५६.१२ प्रतिशत हो ।
बदलिँदो राजनीतिक परिवेशमा पार्टीलाई पुनः सुदृढ र जनउत्तरदायी बनाउने लक्ष्यसहित विशेष महाधिवेशन आयोजना गरिएको आयोजक पक्षले जनाएको छ । जनभावना अनुरूप नीति निर्माण, संगठन सुदृढीकरण तथा नयाँ ऊर्जासहितको नेतृत्वमार्फत पार्टी रूपान्तरण र पुनर्निर्माण गर्ने उद्देश्य महाधिवेशनको मुख्य एजेन्डा रहेको छ ।
तीन महिना अघि दुई हजार ४८८ जना अर्थात् ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा निवेदन दिएका थिए । सो निवेदन दिएको तीन महिना पूरा हुन दुई दिन बाँकी रहँदा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशनको आयोजना गरिएको हो ।
केन्द्रीय कार्यसमितिबाट औपचारिक रूपमा विशेष महाधिवेशन आह्वान नगरिएपछि महामन्त्रीद्वयको अगुवाइमा भृकुटीमण्डपमा महाधिवेशन सुरु गरिएको आयोजक समितिको भनाइ छ । यसअघि केन्द्रीय कार्यसम्पादन समितिको पुस १८ गतेको बैठकले बहुमतका आधारमा पार्टीको १५ औँ महाधिवेशन आगामी २०८३ वैशाख २८ देखि ३१ गतेसम्म गर्ने निर्णय गरेको थियो ।
तर विशेष महाधिवेशन आयोजक समितिले पार्टी विधानअनुसार नै यो महाधिवेशन आयोजना गरिएको स्पष्ट पारेको छ । कांग्रेस नेता तथा विशेष महाधिवेशन सचिवालय सदस्य युवराज पाण्डेयका अनुसार उद्घाटनको दिनमै दुई हजार ६६२ जना प्रतिनिधिको हस्ताक्षर संकलन भइसकेको छ ।

