काठमाडौं । नेपाली कांग्रेसभित्र तीव्र मतभेदका बीच आजदेखि विशेष महाधिवेशन शुरु हुँदैछ। संस्थापन पक्षले यसको औचित्यमाथि प्रश्न उठाइरहँदा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित विशेष महाधिवेशन पक्षधर नेताहरूको आह्वानमा काठमाण्डौको भृकुटीमण्डपमा आज र भोलि महाधिवेशन आयोजना हुँदैछ।
विशेष महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे हुने तय गरिएको छ। उद्घाटनका लागि भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अट्ने मञ्च निर्माण गरिएको छ भने ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुन सक्ने गरी कुर्सीको व्यवस्था मिलाइएको छ। मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीका अनुसार मञ्च क्षेत्र कांग्रेसका झण्डा, ब्यानर र प्रचार सामग्रीले सिंगारिएको छ।
उद्घाटनअघि काठमाण्डौका विभिन्न स्थानबाट र्याली निकाल्ने तयारी गरिएको छ। विशेष महाधिवेशनको सभापतित्व कांग्रेस काठमाण्डौका सभापति कृष्ण सबुज बानियाँले गर्नुहुनेछ।
देशका विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरू काठमाण्डौ आइपुगेका छन् भने आउने क्रम जारी छ। आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाका अनुसार ३ हजार ६ सय प्रतिनिधिका लागि काठमाण्डौका विभिन्न स्थानमा बसोबासको व्यवस्था गरिएको छ। आवश्यक परे थप चार सय जनासम्म तत्काल व्यवस्थापन गर्न सकिने तयारी गरिएको उहाँले जानकारी दिनुभयो।
महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले एक हजार रुपैयाँ शुल्क तिरेपछि झोला र खाना कुपन प्राप्त गर्ने व्यवस्था गरिएको छ। खाना तथा नास्ता कार्यक्रम स्थलमै उपलब्ध गराइने आयोजक समितिले जनाएको छ।
उद्घाटन सत्रपछि बन्दसत्र भृकुटीमण्डपको सभाहलमा सञ्चालन हुनेछ। यद्यपि बन्दसत्रमा प्रस्तुत हुने नीतिगत दस्तावेज र प्रस्तावका विषयमा अहिलेसम्म औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।
यसैबीच कांग्रेस संस्थापन पक्षले नियमित महाधिवेशनको मिति तय भइसकेको अवस्थामा विशेष महाधिवेशन आवश्यक नरहेको अडान दोहोर्याएको छ। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले यसअघि १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्ने निर्णय गरिसकेको थियो। तर उक्त निर्णयप्रति महामन्त्रीद्वय थापा र शर्मासहित पाँच नेताले असहमति जनाएका थिए।
संस्थापन पक्षको तर्क अनुसार नयाँ क्रियाशील सदस्यता वितरण तथा नवीकरणको काम अझै सम्पन्न नभएको र फागुन २१ गते तय भएको निर्वाचनलाई मध्यनजर गर्दै चुनावपछि महाधिवेशन गर्नु उपयुक्त हुने बताउँदै आएको छ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै विधानविपरीत व्यक्तिगत रूपमा बोलाइने अधिवेशन वा विशेष महाधिवेशनमा संलग्न नहुन नेताकार्यकर्तालाई आग्रह गर्नुभएको छ। तर विशेष महाधिवेशन पक्षधर नेताहरूले भने विधानअनुसार नै महाधिवेशन माग गरिएको दाबी गर्दै पार्टीलाई जीवन्त बनाउन प्रतिनिधिहरूलाई सहभागिताको आह्वान गरेका छन्।

