काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले कम्युनिष्ट घटकलाई एकीकृत गर्न अग्रसर रहेको बताएका छन् । बिहीवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै संयोजक दाहालले यस्तो बताएका हुन् ।
उनले राष्ट्रिय एकता, स्वाधीनता र आर्थिक समृद्धि सुदृढ गर्न बृहत राष्ट्रिय एकताको आवश्यकता रहेको बताए । सोही आवश्यकताको आधारमा विभिन्न १७ वटा साना–ठूला कम्युनिष्ट घटकलाई समेटेर नेकपा बनाइएको उनको जिकिर छ । उनले पछिल्लो समय सबै प्रदेश, जिल्ला र पालिकामा युवापुस्ताको आकर्षण नेकपातर्फ बढ्दै गएको दाबी पनि गरे । जेन–जी युवाहरूले आफ्ना विचार र भावनालाई सही ढंगले प्रतिनिधित्व गर्ने पार्टी नेकपा नै भएको भनि बुझ्न थालेको जिकिर पनि गरेका छन् ।
उनले भने, ‘यो राष्ट्रको एकतालाई र स्वाधीनतालाई सुदृढ गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा छ । देशलाई आर्थिक रुपमा समृद्ध बनाउने जिम्मेवारी पनि हाम्रो काँधमा छ । त्यो एक्लैदुक्लै गरेर सकिने कुरा होइन त्यसको लागि एउटा बृहत राष्ट्रिय एकताको आवश्यकता पर्छ । त्यही उद्देश्य बोकेर नै हामीले विभिन्न साना १७ वटा सानाठूला कम्युनिष्ट घटकहरुलाई मिलाएर नेपाली कम्युनिष्ट पार्टी स्थापना गरेर हामी अगाडि बढ्दैछौँ । र यो प्रक्रियासँगै सबै प्रदेश, जिल्ला र पालिकामा पनि युवाहरु यो पार्टीमा केन्द्रित हुने अवस्था बढ्दै गएको छ । खासगरी जेनजी युवापुस्ताहरुले हाम्रो विचार र भावनालाई सही ढंगले प्रतिनिधित्व गर्ने पार्टी त नेपाली कम्युनिष्ट पार्टी नै रहेछ भन्ने बुझ्दै गएको अवस्था पनि देखिएको छ । आज पार्टीमा जोडिन आउने तपाई पनि धेरैजसो युवापुस्ता नै हुनुहुँदो रहेछ । यसले आज फेरी एउटा सकारात्मक सन्देश देशभरी प्रवाहित भएको छ । त्यस अर्थमा पनि म तपाईहरु सबैलाई धन्यावाद भन्न चाहन्छु ।’
बिहीवार पार्टी प्रवेश गर्नुभएका जेनजी युवापुस्तासहितलाई स्वागत गर्दै उहाँले मुलुकको वृहत्तर हितको लागि सधैं तत्पर रहन आग्रह पनि गरेका छन् ।

