काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले आज घर फर्किन पाउँदा खुसी लागेको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित राप्रपा र राप्रपा नेपालको एकता घोषणा सभामा उनले अत्यन्तै भारी मनले राप्रपाको घर छोडेर गएको भन्दै आज फर्किँदा खुसी लागेको बताएका हुन् ।
उनले भने, ‘मलाई आज घर फर्किएको अनुभव भैरहेको छ । अत्यन्तै भारी मनले राप्रपाको घर छोडेर गएको थिए, खुसीले होइन । विभिन्न कारणले म घर छोडेर गएँ । अहिले घर फर्किँदा खुसी पनि छु ।’
यस्तै, उनले कतिपयले बुझेर नबुझेर हारेर भागेको आरोप लगाएको भन्दै त्यो कुरा सत्य नभएको बताए । उनले भने, ‘त्यसबेला मलाई कतिले बुझेरनबुझेर आरोप लगाए, गीताको कसम खाएको मान्छेले पार्टी फुटायो, हारेर भाग्यो । तर ती सबै कुरा असत्य हुन् । म खेलाडी पनि भएकाले हारलाई स्वीकार्ने व्यक्ति हुँ ।’
उनले नयाँ पुरानाको भेदलाई हटाएर अब सशक्त तरिकाबाट अगाडि बढ्न सबैलाई आग्रह पनि गरेका छन् ।

