काठमाडौं । आफूलाई लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको प्रहरी बताउँदै काठमाडौं उपत्यकाका विभिन्न औषधी पसलमा ठगी गर्दै आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले सिन्धुपाल्चोक घर भएका ३७ वर्षीय आकाश भन्ने नानीबाबु लामा र दोलखा घर भएका ३४ वर्षीय प्रकाश तामाङलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार उनीहरू लागुऔषधजन्य औषधी अवैध रूपमा बिक्री गरिएको आरोप लगाउँदै औषधी पसल सञ्चालकलाई डर–धम्की देखाएर रकम असुल्ने कार्यमा संलग्न थिए । नक्कली परिचयको आडमा उनीहरूले पटक–पटक ठगी गरेको उजुरीपछि अनुसन्धान सुरु गरिएको थियो ।
पक्राउ परेका दुवै जनाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

