काठमाडौं । लामो समयदेखि छुट्टिएको राष्ट्रवादी राजनीति पुनः एउटै धारमा फर्किन लागेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच आज औपचारिक एकता घोषणा हुँदैछ। चार वर्षअघि नेतृत्व विवादपछि पार्टी छाडेका कमल थापा पुनः राप्रपामै फर्कन लागेका हुन्।
एकता घोषणा कार्यक्रम आज दिउँसो १ बजे काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा आयोजना हुँदैछ। अध्यक्ष राजेन्द्र लिङ्देन र कमल थापाबीच केही दिनअघि भएको दुई बुँदे सहमतिले एकीकरणको बाटो खोलेको हो, जसलाई राप्रपा नेपालको बैठकले मंगलबार अनुमोदन गरिसकेको छ।
राजनीतिक असन्तुष्टि र नेतृत्व प्रतिस्पर्धाका कारण विभाजित भएको राप्रपाको राष्ट्रवादी धार अब एकताबद्ध हुँदै नयाँ राजनीतिक चरणतर्फ प्रवेश गर्ने संकेत देखिएको छ। नेतृत्व तहमा सहमति जुटेसँगै संगठन विस्तार र आगामी निर्वाचनलाई प्राथमिकतामा राख्ने रणनीति अघि सारिएको छ।
एकीकरणपछि राप्रपा नेपालका नेताहरूलाई सम्मानजनक भूमिका दिने प्रतिबद्धता राप्रपा अध्यक्ष लिङ्देनले जनाएका छन्। राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार महाधिवेशन छ महिनाका लागि स्थगित गरिएको छ भने तत्काल पद बाँडफाँटभन्दा संगठन सुदृढीकरणमा ध्यान केन्द्रित गरिनेछ।
यो एकताले आगामी निर्वाचनको सन्दर्भमा राप्रपाको राजनीतिक प्रभाव विस्तार हुने अपेक्षा गरिएको छ।

