काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजीको भ्रष्टाचार विरुद्धको आन्दोलनका कारण देशमा उथलपुथलदेखि सत्ता परिर्वतनसम्म भयो । यसको प्रत्यक्ष प्रभाव कलाक्षेत्रमा प्रष्टै देखिन्छ । कलाकारहरूलाई पनि ठूलो मात्रामा प्रभाव पारेको छ । समाजका अरू क्षेत्रजस्तै कला–साहित्य, संगीत, नाटक, चलचित्र र साहित्यिक अभिव्यक्तिमा यस आन्दोलनको गहिरो असर परेको देखिन्छ ।
आन्दोलनका दृश्य, नाराहरू, संघर्षका क्षण र सहिदका कथा गीत, कविता, नाटक र चित्रकलामा अभिव्यक्त हुन थालेका छन् । नयाँ पुस्ताका कलाकारहरूले विद्रोह, न्याय र परिवर्तनलाई आफ्नो सिर्जनाको मूलधार बनाएका छन् । कतिपय कलाकारहरूले आन्दोलनलाई समर्थन गर्दै आफ्ना शो, प्रदर्शन र उत्सवहरू स्थगित वा आन्दोलनमै समर्पित गरेका गरे । चलचित्र, संगीत र सांस्कृतिक कार्यक्रममा अवरोध परेको छ । प्रदर्शन स्थगित हुँदा कलाकारहरूको आयआर्जनमा असर परेको छ, तर यसलाई धेरैले “संघर्षकालीन योगदान”को रूपमा स्वीकार गरेका छन् । आन्दोलनमा सक्रियता जनाउनेहरूलाई नयाँ पुस्ताले “आवाज उठाउने कलाकार”को रूपमा हेरिरहेका छन् । केही कलाकारलाई भने तटस्थ रहन खोज्दा आलोचना पनि भएको छ । यस आन्दोलनले कला र समाजबीचको सम्बन्ध अझ बलियो बनाएको छ । भविष्यमा पनि नेपाली कला आन्दोलन र जनआवाजसँग जोडिएर अघि बढ्ने सम्भावना बढेको छ ।
जेनजी आन्दोलनका कारण बन्द भएका केही फिल्म हलहरू सञ्चालनमा आइसकेका छन् भने कुनै हल संञ्चालनमा आउने तयारीमा पनि छन् । आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिले नेपाली फिल्म उद्योगमा ठुलो प्रभाव पारेको छ । लामो समयदेखि विभिन्न चुनौतीसँग जुध्दै पुनरुत्थानको प्रयासमा रहेको फिल्म क्षेत्र यो आन्दोलनका कारण फेरि संकटमा छ । फिल्म निर्माणदेखि छायाङ्कन, सम्पादन र प्रदर्शनसम्म सबै प्रक्रिया प्रभावित भएका छन् । आन्दोलनकै क्रममा भएको तोडफोडले फिल्म क्षेत्र त्रसित बनेको छ ।
कोरोना र भूकम्पपछिको संकट पार गर्दै उठ्ने प्रयासमै रहेको फिल्म उद्योग फेरि आन्दोलनको मारमा परेको छ । फिल्म निर्माणदेखि छायाङ्कन, सम्पादन र प्रदर्शनसम्म सबै प्रक्रिया प्रभावित भएका छन् । आन्दोलनका क्रममा भएको विध्वंसले नेपालभर रहेका हलमा करिब १७ करोडको क्षति पु¥याएको अनुमान छ । हलको छाता संगठन चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनका अनुसार भाटभटेनीलगायतका मलमा भएका हलदेखि बक्स अफिसको संरचनामा लागेको आगोले १७ करोडको क्षति पु¥यायो । विराटनगरमा भएको भाटभटेनी जल्दा त्यहाँ रहेको क्यूएफएक्स हल पूर्ण रूपले नष्ट भएको छ । विराटनगरको भाटभटेनीमा रहेको हल खरानी भयो । त्यहाँबाट निकाल्न मिल्ने केही छैन, सबै ध्वस्त भयो । सिटदेखि प्रोजेक्टर सबै ध्वस्त भयो । बक्स अफिसको संचरना, टिकट बेच्ने मसिनदेखि कम्प्युटर पूरै नस्ट भयो । धुँवाको खारले छैटौं तल्लामा रहेको हललाई असर गरेको छ ।
प्रदर्शनमा रहेका चलचित्रले अपेक्षित दर्शक पाउन सकेनन् भने हल व्यवसाय समेत संकटमा परेको छ । आन्दोलनका दिनहरूमा अधिकांश सिनेमा हल बन्द भएका कारण नयाँ चलचित्र रिलिज रोकिएका थिए । हल खुलेपछि पनि दर्शक उपस्थिति न्यून रहेकाले प्रदर्शनमा रहेका चलचित्रले ठूलो घाटा बेहोर्नुप¥यो । लाखौँ रुपैयाँ लगानी गरिएको चलचित्र समयमै नचल्दा निर्माता–निर्देशकहरू ऋणको दबाबमा परेका छन् । कलाकारको भविष्यमा पनि आन्दोलनको असर परेको देखिन्छ । नयाँ अनुहार तथा उदाउँदा कलाकारले प्रदर्शनमार्फत दर्शकसँग जोडिन पाउने अवसर गुमाए भने लोकप्रिय कलाकारका चलचित्रले समेत अपेक्षित सफलता हासिल गर्न सकेनन् ।
चलचित्र हल सञ्चालकले आन्दोलनका कारण व्यावसायिक संकट झेल्नुपरेको प्रतिक्रिया दिने गरेका छन् । जेनजी आन्दोलनले तत्कालका लागि चलचित्र उद्योगमा नकारात्मक प्रभाव पारे पनि लामो समयका लागि यसले नेपाली चलचित्रलाई सामाजिक चेतना र आन्दोलनसँग जोडिने अवसर समेत दिएको प्रष्टै देखिन्छ ।

