काठमाडौं। जेनजी समूहको नाममा भएको प्रदर्शनका क्रममा भदौ २४ गते आगजनी र तोडफोडबाट ध्वस्त नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको बुधबार तीन जना मन्त्रीले स्थलगत निरीक्षण गरेका छन् ।
अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले सो भवन निरीक्षण गरेका हुन् ।
निरीक्षण गर्दै अर्थमन्त्री खनालले प्रदर्शनकारीको आगजनीबाट क्षतिग्रस्त भवन पुरानै स्वरूपमा निर्माण गरिने बताए । मन्त्री घिसिङले आगामी पुससम्म सिंहदरबार परिसरमा निर्माणाधीन संसद् भवन निर्माण सम्पन्न हुने र त्यहीँ संसद्को बैठक बस्ने बताए । मन्त्रीहरूले पुस मसान्तसम्म संसद् भवनको निर्माण सम्पन्न गर्न निर्देशन दिको निरीक्षणमा सहभागी सहरी विकास तथा भवन विभागका महानिर्देशक मचाकाजी महर्जनले जानकारी दिए ।
सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री घिसिङले आगामी पुससम्म सिंहदरबारमा निर्माणाधीन नयाँ संसद् भवनको काम सम्पन्न हुने बताउँदै फागुनको निर्वाचनपछि संसद्को बैठक त्यहीँबाट सञ्चालन हुने बताएका छन् ।

