बैतडी। भारतको उत्तराखण्ड राज्यका विभिन्न स्थानमा बर्डफ्लु सङ्क्रमण देखिएपछि नेपालको सीमाक्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।
बर्डफ्लु भित्रिन नदिन यहाँका सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बैतडीका प्रमुख गुमानी पन्तको भनाइ छ।
भारतको उत्तराखण्ड राज्यका बागेश्वर र उधमसिंह नगरलगायतका जिल्लामा सङ्क्रमण देखिएपछि सीमाक्षेत्रमा कडाइ गरिएको उनको भनाइ छ।सीमा जोडिएको जिल्ला भएकाले भित्रिन नदिन सतर्कता अपनाएको उनले बताए।
भारतसँग सीमा जोडिएका दशरथचन्द नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा उच्च सतर्कता अपनाइएको छ। केन्द्रले सीमा जोडिएका दशरथचन्द र पञ्चेश्वरलाई उच्च सतर्कता अपनाउन आग्रह गरेपछि यी दुवै पालिकाले सूचना जारी गर्दै सतर्कता अपनाउन सूचना जारी गरेको हो।
गाउँपालिकाले सूचना जारी गर्दै कुखुरा तथा कुखुराजन्य पदार्थ भित्र्याउने कार्यमा संलग्न रहेमा तथा सूचनाको अवज्ञा गरेमा कानुनबमोजिम कारबाही हुने जनाएको छ।
बर्डफ्लु कुखुरा र पक्षीको अतिसङ्क्रामक रोग हो। यो जतिबेला जहाँ पनि फैलन सक्दछ।बर्डफ्लु सङ्क्रमणबाट बिरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने, श्वास फेर्न गाह्रो हुने लक्षण देखिने गरेका छन्।
बिरामी गम्भीर भएमा निमोनिया, श्वासप्रश्वासको समस्या देखिन गइ बिरामीको मृत्युसमेत हुनसक्ने उनको भनाइ छ।

