काठमाडौं । अमेरिकाबाट थप ३७ जना नेपाली नागरिक निष्कासनमा परेका छन् । अमेरिकाको ‘इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट’ (आइस)ले निष्कासनमा परेका सबैलाई चार्टर विमानबाट बुधबार (सेप्टेम्बर ३) मा नेपाल ल्याउन लागेको हो ।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले मंगलबार दिउँसो ओम्नी एयरको चार्टर विमानबाट उनीहरुलाई पठाउने जानकारी आएको बताए । अमेरिकाले ‘उडान नम्बर एन८२८एएक्स’ नम्बरको जहाजबाट उनीहरूलाई नेपाल पठाउँदैछ ।
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता यसअघि अमेरिकाले दुई सयभन्दा बढी नेपाली नागरिकलाई यसैगरी फिर्ता पठाइसकेको छ । हालसम्म ‘डिपोर्ट’ भएर नेपाल फिर्ता हुनेमा २८ जिल्लाका छन् ।
यसअघि डिपोर्ट भएकाहरू दाङ, पश्चिम रुकुम, पूर्वी रुकुम, सल्यान, म्याग्दी, पर्वत, बाँके, रोल्पा, बागलुङ, सिन्धुपाल्चोक, काठमाडौं, जाजरकोट, दोलखा, कास्की, कैलाली, कञ्चनपुर, गोरखा, जुम्ला, झापा, डोटी, डोल्पा, धनकुटा, पर्सा, मकवानपुर, मुस्ताङ, मोरङ, सिन्धुली र सुनसरीका छन् । अमेरिकाबाट डिपोर्ट हुनेमा सबैभन्दा धेरै दाङ, पश्चिम रुकुम र पूर्वी रुकुमका छन् ।
प्रहरीका अनुसार ‘डिपोर्ट’ भएर आउनेहरु अधिकांश संगठित गिरोहलाई रकम बुझाएर अवैध बाटोबाट अमेरिका प्रवेश गरेका हुन् ।

