काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई पार्टी सदस्य हुनबाट कसैले वञ्चित गर्न कदापि नमिल्ने बताएकी छन् ।
शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफू राष्ट्रपति हुँदा देखि नै पार्टी सदस्य भएको ३५ वर्ष भइसकेको र अहिले पार्टी सदस्य भएको ४५ वर्ष बितिसकेको जानकारी गराइन् ।
पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिवद्ध हुँद हुँदै पार्टी सदस्य हुनबाट वञ्चित गर्न कदापि नमिल्ने उनको भनाइ छ । एमाले बनाउन आफू लगायत हजारौँ नेता, कार्यकर्ता र सदस्यहरु लागेको समेत उल्लेख गर्दै उनले भनिन्—, ‘म राष्ट्रपति हुँदा नै पार्टी सदस्य भएको ३५ वर्ष भइसकेको थियो । अहिले पार्टी सदस्य भएको पैँतालिस वर्ष बितिसकेका छन् । त्यसैले, पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिवद्ध हुँद हुँदै मलाई पार्टी सदस्य हुनबाट वञ्चित गर्न कदापि मिल्दैन । यो पार्टी बनाउन म लगायत हजारौँ नेता, कार्यकर्ता र सदस्यको रगत, पसिना, मेहनत लागेको छ । यो कुरा म यहाँ कुनै भावनामा बगेर गरिरहेको छैन । बरु हाम्रो पार्टीका असल परम्परा, मूल्य एवं आदर्शलाई आधार मानेर बहुत शान्त र गम्भीर भएर म यी कुराहरू राखिरहेको छु । यस आधारमा, जबजले अगाडि सारेको पार्टी निर्माणसम्बन्धी अवधारणाको निष्ठापूर्वक रक्षा गर्न म देशभरका सबै एमाले पङ्तिमा आग्रह गर्दछु ।’
पूर्वराष्ट्रपति भण्डारीले ऐतिहासिक सफलतातर्फ उन्मुख बनिरहेको अहिलेको महत्वपूर्ण घडीमा पार्टीलाई वैचारिक रूपले थप सशक्त, सांगठनिक ढङ्गले अझ एकतावद्ध र सुदृढ बनाउनुपर्ने दायित्व भएको बताएकी छन् ।
उनले राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आवद्ध बनी देश र जनताको सेवा गर्ने संकल्प गर्नुलाई कुनै अनौठो र आश्चर्य मान्नुपर्ने विषय नरहेको स्पष्ट पारेकी छन् ।

