काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकको अर्थतन्त्र लयमा फर्किन थालेको दाबी गरेका छन् ।
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो दाबी गरेका हुन् । उनले जाँदै गरेको आर्थिक वर्षमा आर्थिक सूचकांकहरूले अर्थतन्त्रमा सुधार भएको देखाएको बताए । उनले राज्यले निजी क्षेत्रका लागि व्यवसायमैत्री वातावरण निर्माण गरिरहेको उल्लेख गर्दै निजी क्षेत्रबाट अपेक्षा गरिएको योगदानप्रति सरकार जानकार रहेको पनि बताए । उनले उत्पादन र उत्पादकत्वमा वृद्धि गरी निर्यात बढाउने कुरामा सरकार लागि परेको पनि बताए ।
उनले भने, ‘आज हामी आर्थिक वर्षको अन्तिममा छौं । हाम्रो अर्थतन्त्रको सुचकांकले हाम्रो अर्थतन्त्र तङ्ग्रिएको देखाएको छ । अर्थतन्त्रमा देखिएका चुनौतीहरुलाई चिरेर अर्थतन्त्रलाई लयमा फर्काउने कुरमा हामीले केही सफलता प्राप्त गरेका छौं । राज्यले निजी क्षेत्रको लागि व्यवसायमैत्री वातावरण समेत निर्माण गरिरहेको छ । निजी क्षेत्रबाट राज्यले अपेक्षा गरेका कुराहरुमा पनि हामी जानकार छौं । अहिले उत्पादनका समस्याहरु छन्, उत्पादनको बजारीकरणका समस्याहरु छन् । हाम्रो आयात र निर्यातमा निकै फरक छ । तर हामीले यो वर्ष आयातमा नियन्त्रण गरेका छौं । निर्यातमा केही वृद्धि हासिल गरेका छौं । नेपाली उत्पादनको वृद्धि गरी विदेशी वस्तुको आयात प्रतिस्थापन गर्ने कुरामा समेत सरकार प्रतिवद्ध रहेको छ ।’
विदेशी वस्तुको आयातमा नियन्त्रण गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको मन्त्री भण्डारीको जिकिर छ ।

