कृषि क्षेत्र विशाल सम्भावनाको खानी होः सांसद शाक्य

काठमाडौं । राष्ट्रिय सभा सदस्य डाक्टर अन्जान शाक्यले कृषि क्षेत्र हरेक नेपालीको भान्सा र भविष्यसँग जोडिएको भन्दै परम्परागत प्रविधि नभई आधुनिक प्रविधिको विकासमा जोड दिनुपर्ने उल्लेख गर्नुपर्नेमा जोड दिएकी छन् ।

विनियोजन विधेयक २०८२ का विभिन्न शीर्षक माथिको राष्ट्रियसभाको आजको छलफलमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। ‘कृषि क्षेत्र एउटा यस्तो विशाल सम्भावनाको खानी हो । जहाँ हामीले वैज्ञानिक, किसान, उद्यमी र युवाहरूका लागि लाखौँ रोजगारी सिर्जना गर्न सक्छौँ । यसको एउटै मात्र बाटो भने कृषिमा आधुनिकीकरण र विशिष्टीकरण हो ।’

उनले भनिन् , ‘यसका लागि मैले विगतमा पनि यसै भन्दै आएको छु । नेपालमा अब एउटा ‘उत्कृष्ट कृषि केन्द्र’को स्थापना गरिनुपर्छ । यो केन्द्र केवल एउटा भवन हुनेछैन । यो ज्ञान, विज्ञान, प्रविधि र उद्यमशीलताको त्रिवेणी हुनेछ जहाँ हाम्रा वैज्ञानिकले अनुसन्धान गर्नेछन् । नयाँ अवसर पाउनेछन् र किसानले आधुनिक प्रविधि सिक्नेछन् । यो कृषि केन्द्रको अवधारणालाई राष्ट्रिय गौरवको आयोजनामा परिणत गरियोस् र यसका लागि आवश्यक बजेट तत्काल विनियोजन गरियोस् ।’

त्यसको प्रतिफल सिधै नागरिकको जीवनस्तर सुधारमा देखिने र देशलाई आत्मनिर्भर बनाउने पनि उनले उल्लेख गरिन् । त्यसका लागि विद्यालय तह देखिनै विद्यार्थीलाई खेतीपाती र उद्यमशीलतामा आकर्षित गर्नुपर्नेमा पनि जोड दिइन्। त्यसै गरी उनले बजेट आवश्यकता र औचित्यको समानुपातिक वितरणको सिद्धान्त भन्दा पनि पहुँच हाबी भएको जस्तो देखिएको बताइन् ।

सम्बन्धित समाचार

ताजा समाचार