काठमाडौं । नेपाली काँग्रेसका सांसद नारायणदत्त मिश्रले निजामती सेवा विधेयकमा कुलिङ पिरियडको व्यवस्थामा गरिएको हेरफेरका सम्बन्धमा आवश्यक छानविन गरी दोषिलाई कारबाही गर्न माग गरेका छन् ।
राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै सांसद मिश्रले यस्तो माग गरेका हुन् । उनले प्रतिनिधि सभाबाट पास भइसकेको विधेयकमा बुँदा नै थपघट हुनु आपत्तिजनक रहेको बताए ।
उनले भने, ‘निजामति विधेयक प्रतिनिधि सभाबाट त पास भयो तर कुलिङ पिरियडका बारेमा भनिएको र लेखिएको कुरामा फरक छ । सांसदहरु भन्छन्–विश्वासघात भयो । यसका सम्बन्धमा आवश्यक छानविन गरी दोषिमाथि कारबाही होस् ।’
कर्मचारीले अवकाश वा राजीनामा दिएको दुई वर्षसम्म संवैधानिक, कुटनीतिक वा सरकारले गर्ने अन्य कुनै नियुक्ति खान नपाउने कानुनमै व्यवस्था गर्न राज्य व्यवस्था समितिमा सर्वसम्मति भएको थियो । तर प्रतिनिधि सभाबाट पास गर्ने समयमा उक्त विधेयकमा घुसाएर नियुक्ति खान पाउने गरी व्यवस्था गरीएको छ । यसको चौतर्फि आलोचना भइरहेको छ ।

