त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट साँझ ६ बजे कतारको राजधानी दोहाका लागि उडेको विमान ओमानमा डाइभर्ट भएको छ ।
इरानले कतारको दोहामा रहेको अमेरिकी एयरवेशमा सोमबार हवाई आक्रमण गरेपछि ओमानमा विमान अवतरण गरेको हो । हवाई कारबाहीको संकेत पाएलगत्तै कतारले हवाई क्षेत्र बन्द गरेको थियो ।
कतार ट्रान्जिट हुँदै अमेरिका यात्राका क्रममा रहेका सुरेश दर्पण पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘कतारको एयर स्पेश बन्द छ, गन्तव्य अमेरिका कहिले, कसरी पुग्ने पूर्ण अन्यौलमा छौं, तर सुरक्षित छौं ।’
काठमाडौं राति ११ बजेका लागि नेपाल एयरलाइन्सको विमान समेत दोहाका लागि उड्ने तयारी थियो । तर, बोर्डिङ पास लिएर यात्राका लागि अन्तिम विन्दुमा रहँदा यात्रुहरु रोकिएका छन् ।
त्यहाँ हवाई स्पेश बन्द भएको सूचना आएपछि उहाँहरुलाई विमानमा नचढाइ राखिएको छ, कति लामो समय जान्छ कुनै जानकारी छैन’, विमानस्थलका एक अधिकारीले भने, ‘आज उडान सम्भव नहुने भए यात्रुहरुलाई होटलमा बस्ने व्यवस्था मिलाइने छ ।’
इरान इजरायल तनाव बिस्तार हुँदै कतार लगायत देशमा आउँदा पश्चिम एसिया क्षेत्रमा उत्पन्न संकटले नेपाली लगायत विभिन्न क्षेत्रबाट गएका मजदुरसमेत प्रभावित हुन सक्छन् ।
दोहामा रहेको अमेरिकी सैन्य वेसलाई लक्षित गरेर हवाई आक्रमण भएपछि इरानले ‘सार्वभौमिकता, हवाई क्षेत्र र संयुक्त राष्ट्रसंघको सन्धिको खुला उल्लंघन’ गरेको कतारले प्रतिक्रिया दिएको छ ।
कतारको परराष्ट्र मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले अल उदैद वायुसैनिक अड्डामा इरानको रिभोल्युशनरी गार्डद्वारा गरिएको आक्रमणको निन्दा गर्दै यस्तो बताएका हुन् ।
उनले ‘ कतारी वायु सुरक्षा प्रणालीले उक्त आक्रमण विफल पार्न सफल भएको र इरानी मिसाइलहरूको सामना गरेर तटस्थ गराएको’ समेत भनेका छन् ।

