जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि वैश्विक साझेदारी आवश्यक रहेको नेताहरूले बताएका छन् ।
शुक्रवारबाट सुरु भएको सगरमाथा संवाद कार्यक्रममा देशको प्रतिनिधित्व गर्दै नेपाल आएका प्रतिनिधिहरूले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न वैश्विक साझेदारी आवश्यक रहेको बताएका हुन् ।
जलवायु परिवर्तनसँग सम्बन्धित मुद्दामा भइरहेका छलफलमा हिमालको मुद्दा ओझेलमा पारिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सगरमाथा संवादका क्रममा बोल्ने वक्ताहरूले हिमालदेखि महासागरसम्मको मुद्दालाई समेट्ने गरी जलवायु परिवर्तनबारे बहस जरुरी रहेको बताए ।
उद्घाटन सत्रपछिको पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रसचिव अमृतबहादुर राईले वक्ताहरूले जलवायु परिवर्तन सम्बन्धित विश्वमा भइरहेका छलफल, वार्ताहरूमा हिमालको विषयलाई अलिकति कम उठाउने गरेकोमा नेपालले हिमालको विषय विश्व जलवायु संवाद र छलफलमा उठाउन नेतृत्वदायी भुमिका खेलेको भन्दै धन्यवाद व्यक्त गरेको बताए ।
सगरमाथा संवादका क्रममा अहिलेसम्म १९ वटा मन्तव्यहरू प्रस्तुत भएको बताए । जसमा १३ वटा देशका प्रतिनिधिहरू हुनुहुन्छ भने ६ वटा संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय र क्षेत्रीय संघसंस्थाका प्रतिनिधिहरूले विचार राखेको बताए । अब दुई वटा प्यारलल सेसनहरू सञ्चालन हुने र त्यसपछि काठमाडौं घोषणा पत्र जारी गर्ने बताए ।
उनले भने ‘जलवायु परिवर्तन सम्बन्धित विश्वमा भइरहेका छलफल, वार्ताहरूमा हिमालको विषयलाई अलिकति कम उठाउने गरेकोमा नेपालले हिमालको विषय विश्व जलवायु संवाद र छलफलमा उठाउन नेतृत्वदायी भुमिका खेल्नुपर्छ भन्ने उद्देश्यका साथ यो पहिलो सगरमाथा संवाद कार्यक्रमको आयोजना गरिएको हो । सफलतापूर्वक उद्घाटन सत्र सम्पन्न भएको छ । १९ वटा वक्तव्यहरू भएका छन् । त्यसमध्ये १३ वटा देशका प्रतिनिधिहरूले आफ्नो वक्तव्य राख्नुभएको छ भने ६ वटा संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय र क्षेत्रीय संघसंस्थाका प्रतिनिधिहरूले विचार राख्नुभएको छ । हामी अब दुई वटा प्यारलल सेसनहरू गर्दछौँ तीन दिनसम्म । हामीले काठमाडौं घोषणा पत्र जारी गर्छौं । अबको दिनमा नेपालले हिमालको विषयमा कसरी नेतृत्व लिन्छ र कुन बाटो हिँड्छ, विश्व जलवायु छलफललाई कुन बाटोमा हिँडाउन चाहन्छ भन्नेमा हामी काठमाडौं घोषणा पत्र जारी गर्दै छौँ । जलवायु परिवर्तनको विषय एउटा मात्रै देशले समाधान गर्न सक्दैन । त्यसमा क्षेत्रीय, विश्वका सबै देशका साझेदारी आवश्यक पर्दछ । जसले बढी पोलुसन गरिरहेको छ, त्यसले बढी कन्ट्रिब्युट गर्नुपर्दछ ।’
उनले जलवायु परिवर्तनको असर एउटा देशको प्रयासले मात्रै समाधान नहुनेतर्फ विश्व नेताहरूले विश्वको ध्यानाकर्षण गराएको पनि बताए ।

